झापाः अज्ञात समूहको धारिलो हतियार प्रहारबाट झापा मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया आरती चौहान बुढाथोकी घाइते भएकी छिन् । घटनाको प्रकृति हेर्दा हत्या गर्ने तरिकाले आक्रमण गरेको देखिएको प्रहरीको भनाइ छ ।
उनको टाउको र निधारमा धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ । गम्भीर अवस्थामा उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनामा आरतीकी ८ वर्षीया छोरी अर्पना घाइते भएकी छिन् । उनको घाँटीमा नीलडाम देखिएको हुनाले घाँटी थिचेको हुन सक्ने आशङ्का प्रहरीको छ ।
घाइते अर्पनाको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार गरी घटनाका बारेमा जानकारी लिने उद्देश्यले उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । घटनाको बारेमा स्थानीयले बिहान मात्रै थाहा पाएका थिए ।
सो घर एकान्तमा रहेकाले गाउँलेले समयमै घटनाका बारेमा जानकारी नपाएको बताइएको छ । सो घरमा ६१ वर्षीया सासू रमा बुढाथोकीसहित आरती र अर्पनामात्र बस्दै आएका थिए । आरतीका श्रीमान् ओमकुमार वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्सको दुबईमा रहेका छन्् ।
बिहान छोरी अर्पनाले झ्यालबाट कराएर हारगुहार मागेपछि गाउँलेले ढोका खोलेका थिए । बालिकाका अनुसार दुई जना नचिनेका मान्छे घरभित्र प्रवेश गरेका थिए । कतै हल्ला गरे मार्ने धम्की दिँदै अर्काे कोठामा लगेर आफूलाई बाहिरबाट चुकुल लगाइदिएको बयान प्रहरीलाई दिएकी छिन् । सासू रमादेवी प्यारालाइसिसले पीडित छिन् । उनी राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् ।