झापाः अज्ञात समूहको धारिलो हतियार प्रहारबाट ४३ वर्षीया आरती चौहान बुढाथोकी घाइते भएको जानकारी पाउनासाथ समयमै प्रहरी घटनास्थल नआएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । उनीमाथि बुधबार राती हतियार प्रहार भएको थियो ।

एकतले पक्कीघरको दक्षिणतर्फको कोठामा आरती सुतेकी थिइन् । आरतीको छोरीले बिहान चिच्याएर स्थानीयलाई बोलाएपछि आरतीको कोठाको ढोका खोलेर हेर्दा नग्न, बहोश र मरणासन्न अवस्थामा रगतमा डुबिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर गरेका थिए । घटना थाहा पाउनासाथ तत्काल प्रहरीलाई खबर गरे पनि समयमै प्रहरी नआएको स्थानीय बताउँछन् । घटनास्थल र इलाका प्रहरी कार्यालय धुलाबारीको दूरी करीब ३ सय मिटर मात्रै रहेको स्थानीयको भनाइ छ ।

समयमा प्रहरी नआएपछि स्थानीय आफँै प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि गाउँलेको सहयोगमा आरतीलाई उपचारका लागि धुलाबारीस्थित आम्दा मेची अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको टोल विकास संस्थाका अध्यक्ष गोकुल हुमागाईँले जानकारी दिए । आरतीको निधार र टाउकोमा गहिरो चोट छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्थानीयलाई आश्वासन दिए । उनले आक्रमणकारीलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने बताए ।

प्रहरी उपरीक्षक मैनालीसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।