इटहरीः बुधबार इटहरीका मेयर द्वारिकलाल चौधरीले हाल वैदेशिक रोजगारमा रहेका चानक पोखरेलकी श्रीमती रीता पोखरेलसँग घुस लिएको भन्दै एक कर्मचारीलाई निकाले । गत माघदेखि आफैँले नियुक्ति गरेका सब इन्जिनियर राम खड्कालाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा सबै फाँट प्रमुख र प्रमुख प्रशासकीय अधिकृत अगाडि राखेर मेयरले निकालेका थिए । मिडियामा पनि यही समाचार आयो । तर, प्रदेश पोर्टलले खोज गर्दा खड्काले घुस नलिएको स्वयं पीडित भनिएकी चानक पोखरेलकी श्रीमती रीता पोखरेलले बताएकी छिन् ।
पोखरेलले आफूले २०७५ वैशाख २४ गते घर सम्पन्नको प्रमाणपत्र लिएको र आफ्नो सम्पन्नमा राम खड्का नआएर मनोज चौधरी आएको बताएकी छिन् । ‘मैले एक वर्ष अगाडि चौधरी भाइको हस्ताक्षरमा घर सम्पन्न प्रमाणपत्र लिएको हो’, पोखरेलले भनिन्, ‘अहिले एक वर्षपछि घुस दिएको कुरा आउँदा अचम्म लाग्यो ।’
साउनमा आएका कर्मचारीलाई बैशाखमा घुस लिएको भन्दै निकाला !
२०७५ वैशाख २४ गते घरको निर्माण सम्पन्न प्रमाणपत्र पाएकी थिइन् पोखरेलले । तर, घरनक्सा फाँटमा खड्का भने २०७५ साल साउन ३ गते मात्रै आएका थिए । घरनक्सा फाँटले हेर्ने घर सम्पन्नको प्रमाणपत्र पोखरेलले पाएको समयमा खड्का योजना शाखामा रहेका थिए । २०७५ साउन ४ गते तत्कालीन प्रशासकीय अधिकृत सञ्जय अधिकारीले खड्कालाई घरनक्सा फाँटमा सरुवा गरेका थिए ।
नखाएको विष लाग्योः सब इन्जिनियर राम खड्का
म १४ नम्बर कोठामा थिएँ । १५ नम्बरमा इन्जिनियर विकास भट्टराई हुनुहुन्थ्यो । मेयरले प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद बिमली सरको १ नम्बर कोठामा बोलाउनुभयो । हामी गयौँ । मेयर आउनुभयो ।
प्रमुख सर, मेयर सा’ब र अन्य शाखाका प्रमुख सबै जना त्यहीँ हुनुहुन्थ्यो । मलाई छेउमा बोलाउनुभयो । मलाइ चानक पोखरेल नाम गरेको फायलमा कति पैसा खाएर पास गर्नुभयो भन्दै सोध्नुभयो । मलाई थाहा भएन सर भनँे । करार कि थाइ भनेर सोध्नुभयो । मैले करार भनेँ । उहाँले क्वीट, गेट आउट भन्नुभयो ।
म केही बोलिनँ । बाहिर केही नभनी निस्किएँ । मुख छाड्दै अश्लील गाली गरेर निकाल्नुभयो । धकेल्नुभयो । गेट बाहिर आउँदा पनि गाली गर्दै ठेल्नु भयो । मिडियामा मैले घुस खाएको भनेर आयो । न कुनै प्रमाण, न कुनै आधार । न मैले हस्ताक्षर गरेको पृष्ठभूमि । केही नबुझिकन उजुरी आएको भरमा मलाई निकाला गरियो ।
२०७५ वैशाख २४ गते घर सम्पन्न भएको थियो । त्यो बेला मेरो स्थानमा मनोज चौधरी हुनुहुन्थ्यो । हस्ताक्षर उहाँकै छ । तर, कसले के भन्यो र मलाई निकाला गर्नुभयो । म त साउन ३ गते मात्रै घरनक्सा फाँटमा गएको हो । म त्यहाँ गएपछि मनोज चौधरी योजना शाखामा जानुभएको छ ।
त्यो बेला सब इन्जिनियरहरू मनोज चौधरी, देवेन्द्र शाह र इन्दू घिमिरे हुनुहुन्थ्यो । अहिले, म, रविन गँडेल र इन्दू घिमिरे छौँ । मैले अहिलेसम्म घुस खाएको छैन । मेयर सा’बकै कार्यकाल शुरु भएपछि म करारमा नियुक्त भएको हुँ । प्राविधिक काम गर्ने मैले कतै घुस खाएको आजसम्म कसैले पनि भनेको छैन । किनभने मैले खाएको छैन । मलाई नखाएको विष लाग्यो । मिडियामा मैले घुस खाएको अनि रङ्गेहात समातेजस्तो गरेर समाचार आए । यो कुराले मलाई मानसिक तनावमात्रै भएको छ ।