बिर्तामोडः झापा गौरादहका हिक्मत कार्की यतिबेला प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । जसलाई बोलीचालीको भाषामा प्रदेशको गृहमन्त्री पनि भनिन्छ । कार्की अनेरास्ववियुका १४ औं केन्द्रीय अध्यक्ष पनि हुन् । २ छोरी र १ छोराका बाबु कार्कीले ३५ वर्षको उमेरमा विवाह गरेका थिए । झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीका ७ सेक्रेट यस्ता छन्ः

१.माओत्सेतुङको फोटोले बनायो कम्युनिष्ट
एक समय यस्तो पनि थियो कि विद्यार्थीले आफ्नो पुस्तकको गाता लगाउन पनि कागज पाइँदैनथ्यो । बजार गएको बेला किनेर ल्याउनुपथ्र्यो । त्यसबेला चाइनिज गाता पाइन्थ्यो । चाइना सचित्र पुस्तक भन्ने माओत्सेतुङको तस्बिर भएको गाता पाइन्थ्यो । माओत्सेतुङका विभिन्न मोहडाका तस्बिरहरू, लडाकुको तस्बिर, बालबालिकासँग हात मिलाउँदै गरेका तस्बिरहरूले बालबालिकाको मन खिच्थ्यो ।
त्यसै क्रममा कार्कीको पनि आकर्षण बढेको रहेछ । त्यस लगत्तै २०३६ सालको विद्यार्थी आन्दोलनको प्रभावबाट उनी कम्युनिष्ट पार्टीप्रति आकर्षित भए । आज पनि उनी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन् ।

२.पहिलो पटकमै मन्त्री
नेपाली राजनीतिमा पद प्राप्त गर्नु सामान्य कुरा होइन । तर प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पहिलो पटकमै मन्त्री बन्ने अवसर प्राप्त गरे । संसदीय निर्वाचनका लागि पहिलो पटक टिकट प्राप्त गरेका कार्कीले विजय हासिल गरेलगत्ततै प्रदेशको गृह मन्त्री बन्ने अवसर पाएका हुन् । उनी झापाको निर्वाचन क्षेत्र नम्बर ५ क बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

३. हार्ने, जित्ने दुवै मन्त्री
यो २०५४ सालतिरको कुरा हो । स्ववियुको केन्द्रीय काउन्सिलको अध्यक्षमा चुनाव हुने भयो । चुनावमा विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग हिक्मत कार्कीको प्रतिष्पर्धा भयो । प्रतिष्पर्धामा अधिकारीले बाजी मारे । एउटै पदमा भिडेका अधिकारी यतिबेला केन्द्रीय सरकारको पर्यटन मन्त्री छन् भने कार्की प्रदेश सरकारको गृहमन्त्री छन् ।

४. कानुनमा स्नातकोत्तर हुन् कार्की
विद्यार्थी राजनीतिबाट आएका कार्की लामो समय विद्यार्थीकै रूपमा रहे । त्रिभुवन विश्वविद्यालयबाट कार्कीले कानुन सङ्कायमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी प्रमाणपत्रप्राप्त वकिल हुन् । कार्की राजनीतिमा नआएको भए यतिबेला कुनै न्यायलयमा बहस गरिरहेका भेटिन्थे ।

५. चौथीदेखि देउसीसम्मका साथी
कार्की सानामा अलि चकचके र चुलबुले स्वभावका थिए । मानिसका अनेक साथी हुन्छन् । कार्कीका पनि सानैदेखिका एक जना साथी यतिबेला पनि साथीकै रूपमा प्रिय छन् । गौरादह नगरपालिका वडा नम्बर १ का राजन अधिकारी कार्कीका चौथी हान्नेदेखि देउसी खेल्नेसम्मका साथी हुन् ।

६. टाउकोमा कपाल छैन, गोजीमा काइँयो
प्रदेशका गृहमन्त्री कार्की प्रदेश १ का व्यस्त मन्त्रीमध्येमा पर्छन् । उनको व्यस्तता र दौडधुप हेर्दा प्रदेश सरकारको सक्रियता राम्रै देखिन्छ । यति सक्रिय प्रदेश सरकारका गृहमन्त्री कार्की व्यस्त समयकै बीचमा गोजीबाट काइँयो निकालेर कपाल कोर्न पनि भ्याउँछन् । स्कुले जीवनदेखि लागेको उनको यो बानी आजसम्म रहेको छ । उनको कमिजको माथिल्लो गोजीमा अचेल पनि एउटा काइँयो भेटिन्छ । तर, उनको टाउकोमा कपाल भने घट्दै गएको छ ।

७. उमेरका चकलेटी हिरोको मागी बिहे
विद्यार्थी राजनीतिमा कार्कीको प्रभाव रामै्र थियो । हेर्दा ह्यान्डसम पनि देखिन्थे । पढाइमा पनि राम्रै अवस्था थियो । यति भएपछि युवा विद्यार्थीका बीचमा उनी ‘पपुलर’ नै थिए ।
यही पपुलारिटीले उनलाई अनेरास्ववियुको केन्द्रीय अध्यक्षसमेत बनायो । कलेजमा उनलाई मन पराउनेको सङ्ख्या पनि थियो तर उनले यो कुराको कहिल्यै भेउ नै पाएनन् । कलेजमा चम्कँदो युवाले न त कसैलाई प्रेमप्रस्ताव नै राखे । अध्ययन र राजनीतिको चटारोले उमेरको ३५ वसन्त पूरा गरेपछि कार्कीको मागी विवाह भयो ।

मुख्यमन्त्री शेरधन रार्इका सेक्रेट्सबारे जान्न तलकाे लिंकमा जानुहाेस ।