उर्लाबारीः उर्लाबारी–मधुमल्ला सडक खण्डको मधुमल्लामा भेटिएको शङ्कास्पद वस्तु बम नभई रक्सीको बोतल भएको पाइएको छ ।
मिक्लाजुङ गाउँपालिकाको कार्यालयदेखि करीब ३ सय मिटरको दूरीमा सडकमै राखिएको उक्त वस्तु बम नभई रक्सीको २ वटा बोतल भएको पाइएको हो ।
कालो टेपले बेरेको सानो वस्तुमा तार जोडिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान साढे ९ बजे स्थानीयले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएर राखेको थियो । लगभग दिउँसो साढे ३ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा सो वस्तु रक्सीको बोतल भएको खुलेको प्रहरीले जनाएको छ ।
सो शङ्कास्पद वस्तुका कारण ६ घण्टासम्म उर्लाबारी–मधुमल्ला सडक अवरुद्ध भएको थियो । सो अवधिमा वैकल्पिक मार्गबाट सवारी साधन गन्तव्यतर्फ गएका थिए ।