विराटचोकः राजनीतिक दल, नागरिक समाज र विभिन्न अधिकारकर्मी संस्थाबीच राम्रो सम्बन्ध भएका कारण मोरङको सुन्दरहरैंचाको विराटचोक बजार कहिल्यै बन्द नगर्ने सहमति केही वर्ष अघि भएको थियो ।

सोही सहमतिकै आधारमा बजार, पसल तथा उद्योगधन्दा बन्दमा पनि चलिरहेका हुन्थे । तर, अहिले भने जुनसुकै बन्दमा पनि विद्यालय बन्द हुने क्रम बढेको छ ।

विराटचोकमा उद्योग वाणिज्य सङ्घ पहिलेदेखि नै सक्रिय भए पनि जनप्रतिनिधि शिक्षा क्षेत्रको विषयमा गम्भीर नदेखिएको पाइएको छ । ‘नगरवासीको समस्या जनप्रतिनिधिले बुझ्नुपर्ने हो,’ कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईं भन्छन्, ‘उहाँहरूले चासो नदेखाएपछि शैक्षिक संस्था बन्द हुन थालेका छन् ।’ यस विषयमा जनप्रतिनिधिले सल्लाह पनि नगरेको तर भाषण चाहिँ बन्दरहित विराटचोक भन्दै हिँड्ने गरेको उनले बताए ।

पहिले नागरिक समाज, उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले साथ दिए पनि अहिले भने त्यस्तो एकता हट्दै गएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का मोरङ अध्यक्ष अर्जुन बस्नेत बताउँछन् । सिद्धार्थ इङ्लिस स्कुल खोर्सानेका प्रिन्सिपल बस्नेत अहिले विद्यालय बन्द नगर्नुको विकल्पै नभएको बताउँछन् ।

यता, सुन्दरहरँैचा नगरपालिकाकी उपमेयर धना तामाङले भने लज्जास्पद जवाफ दिएकी छिन् । पहिले बन्दमा विद्यालय खुल्ने गरेको आफूलाई थाहा नभएको उनले बताइन् । ‘पहिले पनि खुल्ने थाहा थिएन’, उनले भनिन्, ‘अहिले पनि विद्यालय बन्द छन् भनेर आफूलाई कुनै जानकारी आएको छैन । मेयर शिवप्रसाद ढकालसँग यस विषयमा बुझ्न खोज्दा उनको फोन ‘अफ’ रहेको थियो ।