भोजपुरः भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा एक जना आमाले आफ्नै २२ महिने छोरालाई खुकुरीले रेटेर हत्या गरेकी छिन् ।
२५ वर्षीया सम्झना थापाले आफ्नै छोरा सम्बोधन थापाको आज बिहान ७ बजेतिर हत्या गरेकी हुन् । आफू बस्ने घरको छतमा लगेर अचानोमाथि बालक राखी खुकुरीले घाँटी रेटेर उनले हत्या गरेकी हुन् ।
रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई पानीट्याङ्की टोलमा भिनाजुको घरमा सम्झनाको परिवार बस्दै आएको थियो । बालकका बाबु सूर्यबहादुर लघुवित्त कम्पनीको कामको सिलसिलामा जिल्लाबाहिर गएको बेला घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेबेले बताए ।
प्रहरीले हत्यामा संलग्न सम्झनालाई पक्राउ गरेको छ । बालकको शव जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।