इटहरीः सङ्घीय सरकारले आर्थिक वर्ष २०७६–७७ को लागि विनियोजन गरेको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेटमा इटहरी समेटिएका विभिन्न कार्यक्रमहरू सार्वजनिक भएका छन् ।

आज सङ्घीय सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा इटहरी केन्द्रित दुई परियोजनाहरू समेटिएका छन् । सङ्घीय अर्थमन्त्री युवराज खतिवडाले इटहरीलाई मेगा सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने बजेटमा वक्तव्यमा बताए ।

प्रदेश १ को मेगा सिटी निर्माणसँगै इटहरीमा रेलमार्ग निर्माणको कुरा पनि सङ्घीय बजेटले समेटेको छ । जोगबनीबाट बथनाह हुँदै विराटनगरमा आउन लागेको रेलमार्गलाई इटहरीसम्म ल्याउने कार्यक्रम पनि सङ्घीय सरकारले सार्वजनिक गरेको छ ।

सङ्घीय बजेटमा अटेन लगानी सम्मेलनमा प्रस्ताव गरिएको तालतलैयाको फन पार्क

२०७५ चैत १५ र १६ गते सङ्घीय राजधानी काठमाडौंमा भएको लगानी सम्मेलनमा इटहरीबाट परेको परियोजना भने सङ्घीय बजेटले समेटेको छैन । ४१ करोड अमेरिकी डलरको तालतलैया थिम पार्क विथ होटल नामक परियोजना सङ्घीय बजेटले समेटेको छैन । इटहरी वडा नम्बर २ र ३ क्षेत्रमा फैलिएको तालतलैयामा लगानी सम्मेलनमा परेको परियोजना बजेटमा नआउँदा दुःख लागेको तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले बताए ।

उनले भने, ‘अब प्रदेश सरकारले तालतलैयाको लागि बजेट ल्याउने आशा गरिएको छ ।’