विराटनगर/ भदौभित्र प्रदेश १ को नामकरण र स्थायी राजधानीको औपचारिक टुङ्गो लगाउने चर्चा छ । तर, नाम के राख्ने र स्थायी राजधानी कहाँ राख्ने भन्ने बारेमा ‘टेबल टक’हरू भए पनि सदनमा भने प्रवेश पाएको छैन । ९३ सांसदमा ६७ जनाको २ तिहाइको सङ्ख्या रहेको सत्तारुढ नेकपा र २१ सिट भएको प्रमुख प्रतिपक्षी दलले पनि नाम र राजधानीको बारेमा औपचारिक धारणा सार्वजनिक गरेका छ्रैनन् ।
प्रदेश पोर्टलले प्रदेश १ का १/१ सांसद भएका सङ्घीय लिम्बुवान मञ्च, राप्रपा र ३ सांसद भएको सङ्घीय समाजवादी फोरमका संसदीय दलका नेताहरूलाई प्रश्न गरेको छ । उनीहरूले प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा यस्ता सुझावहरू दिएका छन्ः
१. पार्टीः सङ्घीय लिम्बुवान मञ्च
प्रदेशको नामः लिम्बुवान र किरात खम्बुवान
राजधानीः विजयपुर (धरान)
लिम्बुवानकी एक्ली सांसद विष्णुमाया तुम्बाहाम्फे प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने बताउँछिन् । पहिचानको समग्र माग सम्बोधन गर्न यो नाम पार्टीले प्रस्ताव गरेकाले यही नामको पक्षमा आफू सदनमा नामकरणको सवालमा प्रस्तुत हुने तुम्बाहाम्फे बताउँछिन् ।
राजधानी भने विजयपुर हुनुपर्ने लिम्बुवान सांसद तुम्बाहाम्फे बताउँछिन् । ऐतिहासिकता र प्रदेशका सबैको सुगमताको आधारमा विजयपुर राजधानीको लागि सबैभन्दा उपयुक्त भएको उनको तर्क छ ।
२. पार्टीः राष्ट्रिय प्रजातन्त्र पार्टी
नामः साझा पहिचानको आधारमा
राजधानीः विराटनगर
प्रदेश १ की राप्रपाकी एक्ली सांसद इन्दिरा राईले प्रदेश १ को स्थायी राजधानी विराटनगर हुनुपर्ने आफ्नो पार्टीको लाइन भएको बताइन् । तर, नामको विषयमा भने सबैको साझा पहिचान झल्कने नाम हुनुपर्ने आफ्नो पार्टीको लाइन भएको उनी बताउँछिन् । कुनै १ वा २ जातीय पहिचानको नाम भने राप्रपाले स्वीकार नगर्ने राप्रपाको संसदीय दलकी नेतृ राईको भनाइ छ ।
आजसम्म कुनै गाइडलाइन छैन । प्रदेश कार्यालय विराटनगर नै हो ।
३. पार्टीः सङ्घीय समाजवादी फोरम
नामः पहिचानको आधारमा किरात वा लिम्बुवान
राजधानीः वर्तमान पूर्वाधारको आधारमा बनाउँदा विराटनगर र भौगोलिक सुगमताको आधारमा बनाउँदा धनकुटा
प्रदेश १ को तेस्रो ठूलो दल सङ्घीय समाजवादी फोरमका नेता जयराम यादवले प्रदेशको नाम र राजधानीको विषय सदनमा प्रवेश नगरेकाले औपचारिक निर्णय नगरेको बताए । तर, नामको विषयमा पहिचान र सामथ्र्यका ९ आधार पहिले संविधानसभामा सिफारिस भएबमोजिम पहिचानकै आधारमा हुनुपर्ने पार्टीको धारणा रहेको यादवले बताए । उनले भने, ‘प्रदेश १ आदिवासी जनजाति बाहुल्य प्रदेश भएकाले यसको नाम किरात वा लिम्बुवानमा एक हुनु राम्रो हुन्छ ।’
राजधानीको विषयमा भने संसदीय दलका नेता यादवले २ प्रस्ताव आफ्नो पार्टीले ल्याउने बताए । त्यसको लागि वर्तमान पूर्वाधारका आधारमा विराटनगर नै उपयुक्त भएको तर भौगोलिक सुगमताको आधारमा धनकुटा योग्य रहेको यादवले बताए ।