उर्लाबारीः सोमबार आफ्नै घरको आँगनमा खेलिरहेकी ४ वर्षीया बालिका कृतिका घिमिरे अपहरणमा परिन् । अपरिचित युवाले खेल्दै गरेको स्थानबाट उनलार्इ उठाएर लगे ।

उर्लाबारी–६ घर भएकी घिमिरे साथीसँग खेल्दै गर्दा एक युवाले लिएर भाग्दै गरेको जब स्थानीयले देखे, उसको पछि लाग्न थाले । स्थानीयले घेरा हालेर निजलार्इ पक्राउ गर्न सफल भए । र, तत्काल उर्लाबारी प्रहरीलार्इ जिम्मा लगाए ।

कुनै चलचित्रको दृश्यजस्तै लाग्ने यो घटना हिजो बेलुका ४ बजेको हो । यदि स्थानीयले बालिका लग्दै गरेको नदेखेको भए बालिका भारत पुग्ने दोषीबाट बरामद गरिएका विभिन्न प्रमाणले पुष्टि गरेको हवल्दार युवराज खतिवडाले प्रदेश पोर्टललार्इ जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका युवा दमक निवासी ३१ वर्षीय गोपाल कार्की हुन् । उनलार्इ आजै म्याद थप गरी अपहरण मुद्दा चलाइएको छ । कार्कीको साथबाट भारतका विभिन्न स्थानमा बस्ने गरेको प्रमाण पनि फेला परेको छ । उनको साथबाट रेलको टिकटसमेत बरामद भएको छ ।

उनी सो घटनामा एक्लै थिए वा कुनै ठूलै समूह सक्रिय छ भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।