विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले हरेक योजना बनाउँदा स्थानीय सरकारसँग समन्वय गरिने बताएका छन् । दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा सहभागी भएका प्रदेशका स्थानीय सरकार प्रमुख र उप्रमुखलाई सम्बोधन गर्दै राईले प्रदेशको नीति कार्यक्रम बन्ने चरणमा रहेको जानकारी गराएका हुन् ।
उनले ठूला योजना केन्द्रले, मझौला योजना प्रदेशले र साना योजना स्थानीय सरकारले हेर्ने स्पष्ट व्यवस्था भएको हुँदा मझौला योजनाको नेतृत्व गर्ने प्रदेशले स्थानीयसँग छलफल गरेरै योजना तर्जुमा गर्ने स्पष्ट पारे । उनले कुनै पनि कार्यक्रम नदोहोरियोस् भनेर चरबद्ध छलफल गर्ने योजना अनुसार प्रदेशको बजेट तयारी पूर्व स्थानीय जनप्रतिनिधिसँग छलफल चलाइएको जानकारी दिए ।
‘हामीले तहगत आवश्यकता औँल्याएर मात्र योजना बनाउनुपर्छ’, मन्त्री राईले भने, ‘जनआवश्यकता एकातिर, योजना अर्कोतिर हुनुहुँदैन भन्ने कुरामा हामी सचेत बन्नुपर्छ ।’ उनले जनताका माग र आवश्यतालाई सम्बोधन गर्न सकिएन र समयको गतिमा लम्किन सकिएन भने समयले उपलब्धि हासिल गर्न नसक्ने स्पष्ट पारे । बजेटले सबै योजनामा रकम छर्नेभन्दा पनि ठोस उपलब्धि हासिल हुने कुरामा मात्र केन्द्रित हुने उल्लेख गरे ।
स्थानीय जनप्रतिनिधिले भने योजना साझेदारीका नाममा पुनः स्थानीय सरकारले पाउने अधिकार प्रदेशले राख्न खोजेको गुनासो गरेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुुहाङले केन्द्रले प्रदेशलाई कज्याउने र प्रदेशले स्थानीय तहलाई कज्याउने रणनीति रहेको भन्दै संविधान र सङ्घीयताको मर्मलाई कुल्चिने प्रवृत्ति हाबी भएको आरोप लगाए ।
त्यस्तै, चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले सिंहदरबार जनताको घरघरमा आएको भनिए पनि अहिले अधिकार खोस्ने होडबाजी भइरहेको बताए । खत्रीले शिक्षा एवम् स्वास्थ्यका कामहरू स्थानीय सरकारले सञ्चालन गरे पनि जिल्ला समन्वय समितिले यस्ता कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारलाई कमजोर बनाउने खेल भइरहेको गुनासो गरे । उनले अहिले प्रदेशले डाकेको समन्वय परिषद् बैठक उचित समयमा भएको बताए । ‘बजेट तयारीको समयमा हामीलाई बोलाएर प्रदेश सरकारले सुझाव लिनु एकदमै राम्रो कुरा हो’, उनले भने ‘तर, हाम्रा कुराहरू कतिको कार्यान्वयन हुन्छन् त्यो भने हेर्न बाँकी छ ।’
प्रदेशको दोस्रो समन्वय परिषद् बैठकमा स्थानीय जनप्रतिनिधिले राख्ने उचित सुझावलाई आउँदो बजेटमा समावेश गरिने प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।