इटहरीः आगामी असार १४ गते उद्योग वाणिज्य सङ्घ (उवासंघ) इटहरीको चुनाव हुँदैछ । चुनावको लागी भोट माग्न उमेद्वारहरु व्यस्त छन् । हालका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका बलिया दाबेदार शैलेश बिस्टले भोटरहरू भेट्ने क्रम बढाएका छन् । उनले उत्तरी मोरङबाट सञ्चालित टिपर मजदुरहरूसँग भोट माग्न थालेका छन् । पछिल्लो हप्ता उनी लेटाङका विभिन्न व्यवसायीहरूसँग वान टु वान मिटिङ र फोन कुराकानीमा पनि व्यस्त भएका छन् ।
‘यो पटकको चुनावमा नयाँ भोटरहरू धेरै हुनुहुन्छ जसमा टिपर मजदुर र लेटाङ क्षेत्रका व्यवसायीहरू धेरै हुनुहुन्छ’, आक्रामश चुनावी अभियानमा आफ्नो प्यानलसँगै व्यस्त विष्टले भने, ‘त्यही भएर मैले उहाँहरूसँगको भेट बढाएको छु ।’
उवासंघ चुनावमा अध्यक्षका उम्मेदवार भीम पौडेलको पटक क्षेत्रमा बिस्ट र बिस्टको पकट क्षेत्रमा पौडेलले चुनावी प्रचार अभियानलाई बढाएको उवासंघका नेताहरू बताउँछन् । उनीहरूका अनुसार यो वर्षको चुनावमा ६ हजार हाराहारी भोटरहरू हुनेछन् भने ३ हजार भोट कटाउनेले चुनाव जित्ने उनीहरूको भनाइ छ ।
उवासंघका अध्यक्षहरूले आफ्नो आस्थाको राजनीतिक दलबाट स्थानीय र संसदीय चुनावमा टिकट पाएको नजिर भएकोले इटहरीमा व्यापारीको चुनावलाई संसदीय वा स्थानीय चुनावको झल्को दिने खालको भएको जानकारहरूको भनाइ छ ।