झापाः गत जेठ ९ गते झापाको मेचीनगर– १० स्थित धुलाबारीमा भएको घटनामा संलग्न दोषीलाई सार्वजनिक गर्न र घाइतेको उपचार खर्च तत्काल जुटाउन माग गर्दै इलाका प्रहरी कार्यालय धुलाबारी परिसरमा आज स्थानीयले प्रदर्शन गरेका छन् ।
सो दिन अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर–१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती चौहान बुढाथोकी घाइते भएकी थिइन् । घटनामा संलग्नले आरतीकी ८ वर्षीया छोरी अर्पनालाई समेत घाँटी थिचेर घाइते बनाएका थिए ।
तत्काल घटनास्थल आइपुगेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनाका बारेमा अनुसन्धान गर्दै संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरी सार्वजनिकसहित कारवाही गर्ने स्थानीयलाई आश्वसन दिएका थिए ।
तर, घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा सम्म स्थानीय प्रशासनले घटनामा संलग्नलाई सार्वजनिक नगरेको भन्दैं स्वतःस्फूर्त रूपमा स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।
प्रहरीले सो घटनामा संलग्न भएको अशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जनाए पनि सार्वजनिक नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे । प्रहरी स्रोतका अनुसार घटना भएको राति घटनास्थल नजिकको सीसीटीभी फुटेज र पीडित व्यक्तिसँग मोबाइलमा सम्पर्क भएको कल डिटेल्स पनि सङ्कलन भएको छ ।
बरफ फ्याक्ट्री जाने बाटोमा रहेको सीसी क्यामेराको फुटेजमा सन्दिग्ध अभियुक्त देखिएको हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको स्थानीयवासीको भनाइ छ । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले घटनामा संलग्न भएको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेकालाई सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । यसअघि स्थानीयवासीले ती अभियुक्तलाई सार्वजनिक गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा ज्ञापनपत्र बुझाएको नेकपा १० नम्बर वडाका वडाध्यक्ष प्रकाश खड्काले बताए । सबै प्रमाण जुटाइसकेपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्ने जनाएको छ ।
सयौंको सङ्ख्यामा इलाका प्रहरी कार्यालय धुलाबारीमा भेला भएर स्थानीयवासीले प्रदर्शन गर्दै घटनामा संलग्न भनिएका र प्रहरीको नियन्त्रणमा रहेका २ जनालाई स्थानीयवासीसमक्ष तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे ।
पक्राउ परेका शङ्कास्पद व्यक्तिहरु नै आक्रमणकारी हुन् भनेर घाइतेकी छोरी अर्पनाले पुष्टि गरिसकेको र रगत लत्पतिएको केही कपडा समेत उनीहरूसँगै फेला परिसकेकाले घटनामा उनीहरूकै संलग्नता रहेको पुष्टि हुने मेचीनगर–१० का वडाध्यक्ष सुदेशकुमार पनेरुले बताए ।
उपचारका लागि बीएन्डसी हस्पिटल बिर्तामोडमा रहेकी आरतीलाई खर्च अभाव भएको आरतीका श्रीमान् काजी भनिने ओमकुमार बुढाथोकीले बताए । आर्थिक अवस्था ज्यादै न्यून भएका कारण उनी वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्सको दुबईमा थिए । घटनालगत्तै उनी घर फर्किएका छन् ।
अस्पतालले तत्काल रकम जम्मा गर्न दबाब दिइरहेको र श्रीमती अझै अचेत अवस्थामा रहेको उनको भनाइ छ । गाउँलेको सहयोगमा आरतीलाई उपचारका लागि धुलाबारीस्थित आम्दा मेची अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।
‘अस्पतालले पटकपटक रकम जम्मा गर्न दबाब दिइरहेको छ’, ओमबहादुरले भने, ‘झण्डै ८–१० लाख रुपैयाँ बिल पुगिसक्यो यत्रो पैसा मैले कहाँबाट ल्याऊँ ?’ स्थानीयले घटनाका दोषी पक्राउ परिसकेकाले उनीहरूले अस्पतालमा रकम जम्मा गर्नुपर्ने भन्दैं प्रशासनसँग माग गरेका छन् ।
आरतीको निधार र टाउकामो गहिरो चोट छ । चोट धारिलो हतियारको भएको प्रहरीको भनाइ छ । घटनामा संलग्नले अर्पनालाई घाँटी थिचेर हत्या प्रयास गरेको हुन सक्ने अनुमान गाउँलेले गरेका छन् । उता आरती नग्न अवस्थामा र रगतमा डुवबको अवस्थामा भेटिएको स्थानीयले बताए ।
घटनाको प्रकृति हेर्दा मार्ने नियतले हिंस्रक आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय भन्छन्, ‘एउटा कोठामा छोरीसँग बस्दै आएकी आरतीलाई आक्रमणकारीले धारिलो हतियारले टाउकोमा हिर्काएर मरेको ठानी छाडेर गएका हुन सक्छन् ।’