धरानः देशभर दिनहुँजसो महिला तथा बालिका बलात्कार, हिंसा र हत्याको खबरहरु आइरहेका छन् । एक पछि अर्को बलात्कार र हत्याको घटना भइरहँदा प्रहरी प्रशासनले भने अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन ।पछिल्लो समय कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा प्रहरीले पीडकलाई बचाउन खोजेको भन्दै उग्रप्रर्दशन भयो । सो क्रममा एकको ज्यान गइसकेको छ । त्यसपछि पनि मुलुकका विभिन्न ठाउँमा बलात्कार र हत्याका घटनाहरुमा कमी आएको छैन । सुनसरीकै धरान ५ मा बलात्कृत भएकी किशोरीको परिवारले प्रहरीमा उजुरी दिएको २ महिना बितिसक्दा पनि फरार आरोपित समातिएको छैन भने २ दिनअघि इनरुवामा एक युवती सामुहिक बलात्कारको शिकार भइन् । भर्खर चतरामा एक बालिका छिमेकीबाट पटक–पटक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

aIMG_3804
महिला माथिको हिंसा र बलात्कारको घटना वृद्धि भएको विरोधमा र अपराधीलाई कडा कानुनी कारबाहीको माग गर्दै मंगलबार धरानमा बृहत विरोध ¥याली भएको छ । महिला सञ्जाल धरान, संयुक्त वाम विद्यार्थी संगठन, समर्पण अभियान नेपाल र धरान रनको संयुक्त आयोजनामा हिंसा र बलात्कारविरुद्ध विरोध प्रर्दशन आयोजना गरेको हो । ¥यालीमा महिला, विद्यार्थी, सामाजिक अभियन्ता र राजनीतिककर्मीहरुसमेतको सहभागितामा रहेको थियो । पब्लिक उच्चमाविको मैदानबाट शुरु भएको ¥याली भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागीहरुले बलात्कार, महिला हिंसाविरुद्ध चर्को नारा लगाएका थिए भने विभिन्न नारा लेखिएको प्ले–कार्ड पनि बोकेका थिए ।
लोकतान्त्रिक चौतारीमा आयोजित विरोध सभामा बोल्दै विभिन्न दलका पुरुष नेताहरुले बलात्कार र हिंसाको घटनाले आफुहरु लञ्जित हुनुपरेको बताए । अपराधमा संलग्न जो कोहीलाई कडा कारबाही गर्न पनि उनीहरुले माग गरे । पूर्व माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघाले अपराधीहरुलाई राज्यले उन्मुक्ति दिन नहुने धारणा राख्दै समाजमा महिलाहरुलाई सुरक्षित महसुस गराउन अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । पुर्वएमालेका नगर सचिवालय सदस्य पारस काङमङले महिला हिंसा र बलात्कारीलाई प्रहरीले जही लुके पनि खोजेर कडा कानुनी कारबाही गर्न माग गरे । उनले महिलाहरुलाई राजनीतिक, सामाजिकरुपमा पनि सचेत हुन आग्रह गर्दै आफुमाथि भएको अन्याय, अत्याचारको विरुद्धमा आवाज उठाउन पनि जोड दिए ।
कांग्रेसका सभापति तिलक राईले हाडनाता करणी गरेर फरार बलात्कारी झमक बस्नेतलाई २ महिना बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेकोमा आक्रोश पोखे । बलात्कार, हत्याको घटना दिनप्रतिदिन बृद्धि भइरहेको भन्दै उनले सरकार र प्रहरी प्रशासनले महिलाहरुको सुरक्षा गर्न नसकेको भन्दै आचोलना गरे । संयुक्त वाम विद्यार्थीका नेता खेम रनपहेलीले धरान ५ का फरार बलात्कारी झमक बस्नेत चाडो पक्राउ नपरे विद्यार्थी आन्दोलन चर्किने चेतावनी दिए । महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले न्याय खोज्दै प्रहरीमा पुगेका पीडितहरुले नै न्याय नपाएर अन्यत्र भौतारिनु परिरहेको भन्दै अपराधीहरु पक्राउ नपर्दासम्म महिलाहरु सुरक्षित महसुस गर्न नसक्ने बताइन् । ‘महिला, बालिकाहरु घरमा, स्कुलमा पनि सुरक्षित छैनन् । जबसम्म अपराधीहरु पक्राउ पदैनन्, तबसम्म महिलाहरु असुरक्षित महसुस भइरहन्छन् । तसर्थ,प्रहरी प्रशासनले दबाब र प्रभावमा नपरी अपराधीलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ,’उनले भनिन् ।
सञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना श्रेङले बलात्कार र हिंसाका घटनाहरु वृद्धि भइरहेको र अपराधीहरु पक्राउ नपर्दा समाजमा महिलाहरुलाई थप असुरक्षित भएको बताइन् । अपराधीहरु पक्राउ नपरे कडा आन्दोलन चर्काउने पनि उनले चेतावनी दिइन् । विरोध सभामा सञ्जालकी सचिव कोपिला भटराई र सदस्य सकुन्तला भुसालले महिला हिंसा र बलात्कार विरुद्ध कविता पनि सुनाएकी थिइन् ।

aIMG_3826 2 aIMG_3827 2 aIMG_3824 1