फाइल तस्बिर
झापाः आफ्न्त भेटघाटका लागि भारतको बाघपुल नजिक मङ्पु पुगेका एक बालकसहित २ जना नेपालीको रेलले किचेर शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा जिल्लाको मेचीनगर नगरपालिका–७ निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका ११ वर्षीय छोरा रोहन श्रेष्ठ रहेका छन् । सो घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छिन् । उनको शरीरको पछाडिको भागमा गम्भीर चोट छ । उपचारका लागि डम्बरीलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए ।
उनका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको ४ जनाको परिवार आफन्त भेटघाटका लागि मावली घर टिष्टा पुगेको थियो । बिहानको खाना खाएर रेलको लिक नजिकै रुखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले मध्याह्न्न १२ बजेतिर किचेको थियो । उनलाई बचाउन श्रीमती डम्बरी जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ । जेठा छोरा भने अलि पर रहेकाले दुर्घटनाबाट बचेको श्रेष्ठ परिवारले जनाएको छ ।
भारतीय प्रहरीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । भारतमा शव पोष्टमार्टम गरी आज दिउँसो ४ बजेतिरमात्र बाबु छोराको शव नेपाल ल्याइएको थियो । दुवैको स्थानीय मेची नदीमा अन्त्येष्टी गरिने बताइएको छ । बाबुछोराको यस्तो घटनाले मेचीनगर—७ स्थित भान्सा खोला शोकमग्न बनेको छ । घटनाको खबर सुनेदेखि इन्द्रकी आमा अचेत झैँ छिन् ।