इटहरीः २ लाख २३ हजार रुपैयाँको हस्ताक्षर भएको चेक भेटाएका इटहरीका पत्रकार त्रिलोचन पौड्यालले चेक प्रहरीलाई बुझाएका छन् । करदाता सेवा कार्यालय इटहरीमा कामको सिलसिलामा पुगेको बेलामा आफूले ठुलो रकमको चेक भेटेकोले प्रहरीलाई बुझाएको पौड्यालले बताए । इटहरीबाट सञ्चालित पूर्वीखबर डटकमका सञ्चालक तथा सम्पादक पौड्यालले असइ अशोक चौहानलाइ चेक बुझाएका छन् ।
जीवन दाहालले सानिमा बैङ्क इटहरी शाखाको चेकबाट गोविन्द कुमार श्रेष्ठको नाममा जेठ पन्ध्र गते काटेको चेक पौड्यालले बाटोमा बेवारिसे फेला पारेका थिए ।
‘करदाता सेवा कार्यालय इटहरी जानेक्रममा विराटनगरलाइनमा रामकुमार सुब्बाको घर नजिकै जीवन दाहालले गोविन्द कुमार श्रेष्ठको नाममा काटेको दुई लाख २३ हजार रुपैयाँको चेक फेला पारेर इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको छु’, पौड्यालले फेबुकमा चेक र चेक हस्तान्तरणको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘सम्बन्धित व्यक्तिले इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्नुहोला ।’