झापाः विगत चार वर्षयतादेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा सार्वजनिक तथा महिलामाथि हुने यौन अपराधका घटनामा कमी आएको छ ।

कार्यालयको ४ वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । आर्थिक वर्ष २०७२÷२०७३ देखि चालु आर्थिक वर्षको १० महिनाको अवधि हेर्दा हरेक वर्ष यस्ता प्रकृतिका घटनामा कमी आएको सो कार्यालयले जनाएको छ ।

सार्वजनिक स्थलमा होहल्ला गर्ने, स्थानीयवासीलाई डर त्रास देखाउने, आतङ्कित पार्ने, मादक पदार्थ सेवन गरेर समाजलाई नकरात्मक असर पर्ने गरी होहल्ला गर्नेलगायतका घटनालाई स्थानीय प्रशासनले सार्वजनिक अपराधका घटना भन्ने गरेको छ । यस्तो घटनामा संलग्नलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर केही सार्वजनिक अपराधको मुद्दा दर्ता गर्ने र आवश्यक कारवाही गर्ने गरेको छ ।

addd

कार्यालयको मुद्दा शाखाले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७२÷२०७३ मा यस्ता प्रकृतिका १ सय ४ वटा मुद्दा दर्ता भए पनि सोही अवधिमा सबै किनारा लागेका थिए । प्रहरीले रात्री गस्तीलाई तीव्र बनाएको, क्युआरटी प्रहरी तथा सादा पोशाकमा समेत २४ अ‍ै घण्टा प्रहरी परिचालन गरेपछि यस्तो घटनामा कमी आएको प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७३÷२०७४ मा यस्ता प्रकृतिका मुद्दामा केही प्रतिशतले कमी आएको थियो। त्यो वर्ष ९३ वटा केही सार्वजनिक अपराधका मुद्दा दर्ता भएका थिए । ती सबै मुद्दा फछ्र्याेट भएको मुद्दा शाखाले जनाएको छ । यसैगरी, आर्थिक वर्ष २०७४÷२०७५ मा ७२ वटा र चालु आर्थिक वर्ष २०७५÷२०७६ को १० महिनाको अवधिमा २२ वटा मुद्दा दर्ता भएको र सबै मुद्दा फछ्र्योट भएको प्रहरीको भनाइ छ ।

यौन अपराधमा पनि कमी
महिलामाथि हुने यौन अपराधका घटनामा पनि गिरावट आएको छ । यसलाई स्थानीय प्रशासनले सफलता मिलेको बताएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मा जबर्जस्ती करणीका ८ र जवर्जस्ती करणी उद्योगका ५ वटा घटना भएका थिए । दुवै मुद्दा सोही वर्ष फछ्र्याेट भएका थिए । आर्थिक वर्ष २०७३÷२०७४ मा जबर्जस्ती करणीका ६, जबर्जस्ती करणी उद्योगका ३ र आर्थिक वर्ष २०७४÷२०७५ मा जबर्जस्ती करणीका ८ तथा करणी उद्योगका ५ वटा मुद्दा दर्ता भएर किनारा लागेका थिए ।

चालु आर्थिक वर्ष २०७५÷२०७६ को १० महिनामा जबर्जस्ती करणीका ८ तथा करणी उद्योगका ७ वटा मुद्दा दर्ता भई फछ्र्याेट भएको जनाइएको छ । ४ वर्षको अवधिमा विभिन्न प्रकृतिका ३७ वटा मुद्दा कार्यालयमा दर्ता भएका र अधिकांश फछ्र्याेट भएका कार्यालयले जनाएको छ ।