झापाः मेचीनगर– ६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एनएमसी सेवा आयोगले आह्वान गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचनामा मागभन्दा धेरै बढी आवेदन परेको छ ।
कार्यालयले केही समयअघि विभिन्न ३ वटा पदमा २० जना कर्मचारीका लागि निवेदन मागेको थियो । तर ती पदमा १ हजार ६ सय ६ जनाले निवेदन दर्ता गराए ।
संस्थाले सहायक अधिकृतका लागि ५ जना कर्मचारी माग्दा ७२ जनाले निवदेन दर्ता गरेका थिए । यसैगरी, वरिष्ठ सहायक तेस्रो पदमा ८ जनाका लागि विज्ञापन खुलाइएकोमा ७ सय ३३ जनाले आवेदन गरेका थिए । कार्यालय सहायक तेस्रोमा ७ जना कर्मचारी आवश्यक भएकोमा ८ सय १ जनाले आवेदन दिएका छन् । सबै तहको परीक्षा शनिबार सम्पन्न भएको छ । यति ठूलो सङ्ख्यामा रहेका परीक्षार्थीको परीक्षाका लागि २ वटा केन्द्र तोकिएको थियो ।
सो सहकारीको कर्मचारी पदपूर्तिका लागि गठित आयोग एनएमसी सेवा आयोगका संयोजक तथा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीका अनुसार चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस र शहीद दशरथ चन्द माविमा परीक्षा केन्द्र कायम गरिएको थियो । दुवै केन्द्रमा छुट्टाछुट्टै केन्द्राध्यक्षको व्यवस्था गरिएको थियो । दुईवटा केन्द्रका २० वटा कोठामा २÷२ जना निरीक्षकको व्यवस्था गरिएको उनले बताए ।
एनएमसीले स्वदेशमा मात्र होइन विदेशमा समेत आफूलाई सफल रूपमा उभ्याउन सफल भएकाले आवेदन दिनेको सङ्ख्या धेरै भएको उनको भनाइ थियो ।
झापाको मेचीनगर– ६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको संस्थाको झापा जिल्लाभर सेवा केन्द्र र शाखा कार्यालय ३५ वटा छन् । ती कार्यालयमा बैकिङ कारोवारका लागि ५ सय बढी कर्मचारी रहेको संस्थाले जनाएको छ ।