इटहरीः मङ्गलबार झिनो अङ्कले नेप्से सूचक बढेर हरियाली छाएको सेयर बजारले बुधबार दिउँसो १ बजेसम्म सो हरियालीलाई कायम राख्न सकेको छैन ।
नेप्से सूचक कहिले हरियो त कहिले रातो हुँदै गर्ने क्रममा १ बजेको समयमा बजार राताम्मे नै देखिएको छ । अधिकांश कम्पनीमा बिक्रेताभन्दा क्रेता नै बढी भए पनि क्रेताले मागेको कम मूल्यमा नै बिक्रेताले सेयर बिक्री गरिरहेको देखिन्छ ।
दिउँसो १ बजेसम्ममा बजार साढे २ अङ्कले झरेको छ । जम्ममा १ सय २१ वटा कम्पनीको १ लाख ४१ हजार ५ सय कित्ता सेयर ४ करोड ८१ लाख ५७ हजार रुपैयाँमा किनबेच भएको छ ।
होटलमा मात्रै हरियाली
कारोबारमा आएका ९ समूहमध्ये होटलबाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा धेरै ६९ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच हुँदा नेपाल लाइफ इन्स्योरेन्सको ३२ लाख ११ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

मूल्य बढ्नेमा युनाइटेड मोदी
बजार घटे पनि युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३.७७ प्रतिशतले मूल्य बढ्दा जनउत्थान सामुदायिक लघुवित्तको २ प्रतिशतले मूल्य बढेको छ । अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै साढे ५ प्रतिशतले मूल्यमा गिरावट आउँदा हाथवे फाइनान्सको सेयर मूल्य ४.२० प्रतिशतले घटेको छ ।