उर्लाबारीः उर्लाबारी नगरपालिका– ६ को मावा खोला किनारस्थित काँसघारीमा नवजात शिशु फाल्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रबार पक्राउ गरेको छ ।

गत चैत २५ गते भेटिएको शिशुलाई उर्लाबारी प्रहरीले तत्काल उद्धार गरी स्थानीय गोदावरी हस्पिटलमा प्रारम्भिक उपचारपछि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारकै क्रममा शिशुको मृत्यु भएको थियो ।

शिशुलाई बेवारिसे अवस्थामा फालेर बेपत्ता भएकी शिशुकी आमा इलाम माङ्सेबुङ गाउँपालिका–६, स्थायी घर भई उर्लाबारीमा डेरा गरी बस्दै आएकी ३० वर्षीया माया राईलाई प्रहरीले पक्राउ गरेको हो । शिशुको नोबेल अस्पतालमा उपचारका क्रममा राई उपस्थित भए पनि २८ गते उपचारको क्रममा शिशुको मृत्यु भएपछि उनी अस्पताल परिसरबाटै भागेकी थिइन् ।

गत बैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम मुद्धा दर्ता भएको थियो । सो मुद्दामा जिल्ला अदालत मोरङबाट शिशुलाई बेवारिशे अवस्थामा छाड्ने राईलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उर्लाबारी–५ हाटखोलाको शुक्रबारे बजारबाट उनी पक्राउ परेका थिइन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।