धरानः धरान प्रहरीले सुन ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको कटिहार जिल्लास्थित नयाँ टोलका १९ वर्षीय पवनकुमार मण्डल र गछियाका १९ वर्षीय दीपककुमार साह रहेका छन् ।
उनीहरू केही समय अघिदेखि धरानमा भाँडाकुँडा र सुन टल्काउने भन्दै ठगी गरेर हिँडेको प्रहरीको भनाइ छ । उनीहरूविरुद्ध धरान–१७ रेल्वेकी ३२ वर्षीया सविना राईको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।