धरानः डाक्टरले नै स्वस्थ भनेका जुम्ल्याहा बच्चाको उपचारमा लापरवाही गरिँदा जन्मनै नपाई गर्भमा मृत्यु भएको भन्दै एक पीडितले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।
उपचारमा लापरवाही गरिएकै कारण आफ्ना स्वस्थ बच्चाको पेटभित्रै मृत्यु भएको भन्दै बुधबार कानेपोखरी– ३ मोरङका दीपक माझीले निवेदन दर्ता गरेका हुन् । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको पनि माग गरेका छन् ।
‘डाक्टरले नै सबै ठीक छ भनेको मेरो बच्चाको एक्कासी कसरी मृत्यु भयो ? त्यसैले छानबिन गरेर कारबाही हुनुपर्ने माग गरी निवेदन दर्ता गरेको छु,’ उनले भने । माझीकी पत्नी सरुले शुरुवातदेखि नै नियमित रूपमा प्रतिष्ठानमा नै जाँच गराइरहेका थिए । डाक्टरले भदौ २२ गते ‘डेलिभरी’को मिति तोकेको थियो । डाक्टरले बोलाएकै मितिमा उनीहरू भदौ १० गते प्रतिष्ठानको गाइनो वार्डमा भर्ना भएका थिए ।
सोमबार (भदौ ११) गते नर्सले परीक्षण गर्ने क्रममा पाठेघरभित्र हात लगाएपछि पानी बग्न थालेको माझीद्वयको भनाइ छ । साँझमा एक्कासी बच्चा चल्न छाडेको भन्दै लेबर रुममा लगेको र आफ्ना जुम्ल्याहा बच्चाको गर्भमा नै मृत्यु भएको खबर दिएको उनी बताउँछन् ।
‘बच्चा नर्मल छ भनेर डाक्टरहरूले नै भनेको थियो । स्वास्थ्य नै थियो, डेलिभरी पनि नर्मल नै गराउँछौं भन्थे । तर, एक्कासी पेटभित्रै बच्चा म¥यो । किन यस्तो भयो भनेर भन्दा डाक्टरले भन्दै भन्दैनन्,’ उनले भने, ‘पाठेघरमा हात लगाउँदा बच्चा बस्ने थैली फुटेर यस्तो भएको हो भनेर सबैले भन्छन् । थैली फुटेकै थियो भने पनि समयमै अप्रेशन गरेको भए मेरो बच्चा बच्ने रहेछ । तर वास्ता नै गरेनन् ।’
गर्भमा नै मृत्यु भएका शिशुको माझी परिवारले अन्तिम संस्कार गरिसकेको छ । प्रतिष्ठानका प्रवक्ता डा.पशुपति चौधरीले उपचारमा लापरवाही नभएको दाबी गर्दै निवेदनको विषयमा अस्पताल निर्देशक आएपछि निर्णय गर्ने बताए ।
उनका अनुसार जुम्ल्याहा बच्चा गर्भमा रहँदा सधैँ ‘हाइ रिक्स’ हुने गर्छ । तर, माझीलाई भने १० गते भर्ना गरेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेकाले लापरवाही भएको भन्न नमिल्ने चौधरीले बताए ।
‘क्लोज मनिटरिङ भइरहेको थियो, त्यसैले लापरवाही हो भन्न मिल्दैन । उपचार नभएको त होइन नि, व्यथा पनि लागेको थिएन । एक्कासी बच्चाको धड्कन बन्द भयो,’ प्रवक्ता डा.चौधरीले भने, ‘आफ्नो बच्चाको मृत्यु भएको विषयमा चित्त नबुझेको भन्दै छानबिनको निवेदन दिएपछि अस्पतालले बिरामी परिवारलाई चित्त बुझाउनुपर्छ । त्यो काम हुन्छ । अस्पताल निर्देशकज्यू बाहिर हुनुहुन्छ, यो विषयमा उहाँ आएपछि छलफल गर्छौं ।’