इटहरीः इटहरीका व्यापारीहरूको साझा संस्था उद्योग वाणिज्य सङ्घ (उवा सङ्घ) इटहरीको चुनाव यही असार १४ गते हुँदैछ । ६ हजार ९५ मतदाता भएको चुनावमा सबैभन्दा धेरै मतदाता अध्यक्ष र महिला उम्मेद्वारको लागि हुनेछन् ।
वस्तुगत, वाणिज्य, उद्योग र एसोसिएट सदस्यहरूको चुनावमा सम्बन्धित क्षेत्रको मत आउँछ । महिलालाई भने सबैको मत आउनुपर्छ । यसरी २ महिला कोटाको लागि २ प्यानलबाट चुनावी मैदानमा सहभागी भएका छन् ४ जना महिला उद्यमीहरू । हालका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट प्यानलबाट हालकी सदस्य रञ्जु सिग्देल र पुनम थापामगर मैदानमा छन् भने हालका कार्यसमिति सदस्य भीम पौडेलको प्यानलबाट पूर्व कार्यसमिति सदस्य गायत्री कट्वाल भण्डारी र शोभा कोइराला (सविना) चुनावी प्रतिस्पर्धामा छन् ।
चुनावी मैदानमा सहभागी चारै महिला उद्यमीहरू इटहरीका चिनिएका अनुहारहरू हुन् । उनीहरू व्यवसायमा स्थापित छन् ।
गायत्री कट्वाल भण्डारी
उद्योग वाणिज्य सङ्घमा सबैभन्दा सिनियर महिला सदस्यकी उम्मेद्वार हुन् उनी । बिगत २९ वर्षदेखि व्यवसायमा सक्रिय उनी इटहरी रेडिमेड व्यवसायी सङ्घकी अध्यक्ष समेत हुन् । इटहरी लेडी जेसीजको पूर्व कार्यकारी महिला उपाध्यक्ष भण्डारी जीफोर कलेक्सनकी प्रोप्राइटर पनि हुन ।
आफ्नो व्यवसायमा जति सक्रिय छिन् भण्डारी अरुको व्यवसायमा समस्या आउँदा सहयोग गर्नेमा पनि उत्तिकै सक्रिय छिन् उनी । गत वर्ष एसके ट्रेडर्समा आगलागी भएपछि घरबहाल बापतको तीन महिने रकम छुट गराउने भण्डारी सक्रिय बनिन् । बिपतको समयमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नेदेखि आफ्नै सक्रियतामा राहत सङ्कलन तथा वितरणमा भण्डारीले नेतृत्व गर्दैै आएकी छिन ।
२०७३ को चुनावमा प्राविधिक रूपमा एक छापे भोटका कारण बदर मत धेरै भएकाले हारेको बताएकी भन्डारी यस पटक जीत निकाल्नेमा ढुक्क छिन् । आफूले समयमै विवाह गरेर परिवार र सन्तान सेटल गराएको र व्यवसायमा पनि सक्रियता घटाउँदै गएकाले उवा सङ्घलाई आफूले धेरै समय योगदान गर्न सक्ने भण्डारीको भनाइ छ । आफूले चुनाव जितेमा नवव्यवसायी, समस्यामा परेका व्यवसायी र महिला व्यवसायीको पक्षमा धेरै काम गर्ने भण्डारी बताउँछिन् ।
रञ्जु सिग्देल
इटहरीको सिग्मा सप्लायर्सकी प्रोपाइटर सिग्देल पूर्व लेक्चरर पनि हुन् । उनले ५ वर्ष इटहरीको सिबी कलेजमा प्राध्यापन पनि गरिन् । प्राध्यापनमा धेरै समय दिँदा व्यापारमा असहज हुने भएको भन्दै उनी हाल फुलटाइमर व्यापारी तथा उद्यमी बनेकी हुन् । कलश रेगुलेटर उत्पादक सिग्देलले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । मानवशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । व्यापारसँगै सामाजिक काममा पनि सिग्देल सक्रिय छिन् । झुम्का जेसीजको आबद्धतादेखी लायन्स क्लब अफ इटहरी सिटीकी सेकेन्ड भीपी सिग्देल प्रदेश उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यमी विकास समितिमा पनि आबद्ध छिन् ।
सक्रिय व्यवसायी, असल आमा र चिनिएकी लेक्चरर सिग्देल २०७३ को चुनावी प्रतिस्पर्धाबाट सदस्य पदमा राम्रो मत पाएर विजयी भएकी थिइन् । यो चुनावमा पनि आफूले राम्रो मत पाएर जित्ने र महिला उद्यमशीलता, स्वरोजगार र लघु कर्जाका क्षेत्रमा काम गर्ने सपना भएको सिग्देल बताउँछिन् । इटहरीका घरेलु उत्पादनको प्रवद्र्धनको सपना पनि भएको उनको भनाइ छ ।
शोभा कोइराला (सविना)
इटहरीमा अप्रत्यक्ष रूपमा डेढ दशकदेखि र प्रत्यक्ष रुपमा विगत एक दशक देखि सक्रिय व्यवसायी हुन् शोभा कोइराला (सविना) । कोइराला इटहरीबाट प्रशारित प्रदेश १ को चर्चित सप्तकोशी एफएमको पुरानो ब्रान्डेड रेडियो प्रस्तोता पनि हुन् । त्यस्तै, इटहरीबाट प्रकाशन हुने सूचना र सञ्चार साप्ताहिक प्रकाशन गर्ने समूह एक्टिभ नारी प्रकाशन समूहकी अध्यक्ष हुन् ।
काव्य टे«डर्स इटहरीकी प्रोपाइटर कोइरालाले स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन् भने रोटरी क्लबदेखि रेडक्रसजस्ता विभिन्न सक्रिय सामाजिक संस्थाहरूको मुख्य भूमिकामा उनी देखिँदै आएकी छिन् । आफूले चुनाव जितेपछि महिलाहरूको उद्यमशीलता, व्यापारको सञ्चारसीपदेखि अवसरहरूका बारेमा सचेतनाका कार्यक्रमहरू चलाउने योजना रहेको कोइरालाको भनाइ छ ।
पुनम थापा मगर
विगत २ दशकदेखि व्यवसायमा सक्रिय महिला उद्यमी हुन् पुनम थापा मगर । २०५४ सालताका २ वर्ष अरुकोमा काम गरेकी मगरले त्यसपछि आफ्नै नेतृत्वमा व्यवसायमा सक्रिय बनिन् । सुलभ फोटो स्टुडियो, सुलभ अडियो क्यासेट कर्नर र सुमेरु गेस्ट हाउस जस्ता इटहरीका चिनिएका व्यवसायमा मगरले नेतृत्व गर्दै आएकी छिन् ।
हाल इटहरी साप्ताहिककी सञ्चालक मगर मिडिया उद्यमी पनि हुन् । उनी कुनै बेला जनमत साप्ताहिकदेखि सामुदायिक अफसेट प्रेस साझेदारीमा सञ्चालन गर्न सक्रिय थिइन् । आफू चुनावी मैदानमा पहिलोपटक आए पनि व्यवसायीहरूसँगको सम्बन्ध भने पुरानो भएको मगर बताउँछिन् । आफूले चुनाव जितेमा आफ्नो प्यानलले सार्वजनिक गरेको घोषणापत्रसँगै महिलामैत्री कामहरू गर्ने आफ्नो सोचाइ भएको उनको भनाइ छ ।