फाइल तस्बिर

झापाः सुरक्षाका दृष्टिले संवेदनशील मानिने नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जडान गर्न लागिएको सीसी क्यामराका बारेमा शुक्रबार ६ नम्बर वडास्तरीय भेला सम्पन्न भएको छ ।

भेलामा सहभागीहरूले सीसी क्यामरा अति आवश्यक भएकाले यसको जडानका लागि जनसहभागितामुलक लगानीमा सबैले सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए । पर्यटन तथा यातायात व्यवस्थापन समितिले आयोजना गरेको वडास्तरीय भेलामा सहभागीहरूले आआफ्नो तर्फबाट स्वतःस्फूर्त रूपमा सहयोग रकम घोषणा गरेका थिए ।

arena tv add

वडा नम्बर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले यो कार्यक्रम नगरपालिकाको ‘फिफ्टी फिफ्टी’ लगानी कार्यक्रम अन्तर्गत भएकाले जनस्तरबाट जति रकम प्राप्त हुन्छ त्यति नै रकम नगरपालिकाले लगानी गर्ने बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार कार्कीले सीसी क्यामरा आफ्नै सुरक्षाका लागि भएकाले हरेकले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

समितिका अध्यक्ष निरबहादुर कार्की ‘नेत्र’ले काँकरभिट्टा क्षेत्र अब सीसी क्यामराको निगरानीमा हुने भएकाले खुला सिमानाका कारण हुने नयाँनयाँ अपराध र दुर्घटनामा कमी आउने बताए । उनका अनुसार काँकरभिट्टाको विभिन्न ठाउँमा ७० देखि ८० ओटा पाँच मेगा पिक्सलको नाइट भिजन क्यामरा जडान गरिनेछ ।

उत्तरमा भट्टराई चोकदेखि पूर्वमा नेपाल भारतको सीमा मेची पुल, दक्षिणमा हुलाक कार्यालय तथा पश्चिममा अस्थायी ट्राफिक प्रहरी पोस्टसम्म सीसी क्यामरा जडान गर्ने योजना रहेको उनको भनाइ छ ।