इटहरीः बजार खुल्नासाथ केही अङ्क बढेर ओरालो लागेको सेयर बजार साढे १२ बजेपछि एकनासले उकालो लाग्दै बजार बन्द हुने समय सम्ममा झण्डै दोहोरो अङ्कले बढ्यो । बजार बढे पनि तुलनात्मक रूपमा कारोबार रकम भने बढ्न सकेको छैन ।
साताको अन्तिम कारोबर दिन बिहीबार बजार ९.३९ अङ्कले बढेर ११८१.६९ अङ्कमा पुगेको छ । नेप्से सूचक र सेन्सेटिभ सूचक दुवै समान ०.८० प्रतिशतले बढेका छन् । बिहीबार ६ लाख ९४ हजार ३ सय ७८ कित्ता सेयर २ हजार ९ सय ५३ पटक किनबेच भएका छन् । जम्मा २१ करोड ९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै २ करोड मात्रै बढी हो । कारोबारमा आएका होटल समूहको सूचकबाहेक सबै सूचकमा हरियाली छाएको छ ।
एनआइसी एशियाको धेरै कारोबार
कारोबार रकममा एनआइसी एशियाले अग्रता लिएको छ । सो कम्पनीको २ करोड ९ लाख ५४ हजार ५ सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६६ लाख ५७ हजार ४ सय ९३ रुपैयाँको कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर १ करोड ४८ लाख ८६ हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीले १ करोड रुपैयाँको कारोबार गर्न सकेनन् ।
मेघाको संस्थापक सेयर सङ्ख्यामा अघि
बिहीबार मेघा बैंकको संस्थापक सेयर सबैभन्दा धेरै ७६ हजार २ सय कित्ता कारोबार भएको छ । एनआइसि एशियाको ६२ हजार ७ सय ८१ कित्ता सेयर कारोबार हुँदा एनएमबी बैंकको ३१ हजार १ सय ८३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार सङ्ख्यामा नेपाल लाइफ
कारोबार सङ्ख्यामा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स अघि देखिएको छ । सो कम्पनीको १ सय ८७ पटक सेयर किनबेच हुँदा एनआइसी एशियाको १ सय ५७ पटक कारोबार भएको थियो । एनएमबीको १ सय २० पटक कारोबार हुँदा मेघा बैंकको १ सय १ पटक कारोबार भएको थियो । अन्य कम्पनीको कारोबार ८० पटकभन्दा तल रहेको छ ।
कमाउनेमा लघुवित्त अघि
बढेको बजारमा लघुवित्त कम्पनीको सेयरमूल्य तुलनात्मक रूपमा बढेको छ । धेरै मूल्य बढ्ने ५ कम्पनीमा ३ वटा कम्पनी लघुवित्त समूहका छन् । भर्खरै आइपिओ सूचीकरण भएको नाडेप लघुवित्तको सबैभन्दा धेरै ८.८८ प्रतिशतले सेयरमूल्य बढेको छ । शतप्रतिशत हकप्रदको लागि बुक क्लोजको मिति सार्वजनिक भएकाले स्वदेशी लघुवित्तको ५.७७ प्रतिशतले सेयरमूल्य बढेको छ । पूर्णिमा विकास बैंकको सेयरमूल्य ५.३३ प्रतिशतले बढ्दा आरम्भ माइक्रोफाइनान्सको सेयरमूल्य ५ प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्तको सेयरमूल्य पनि ४.९८ प्रतिशतले उकालो लागेको छ ।
गुमाउनेमा सप्तकोशी बैंक
बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३.४२ प्रतिशतले सम्पत्ति गुमाउँदा छ्याङ्दी हाइड्रोपावर र भार्गव विकास बैंकका लगानीकर्ताले समान २.४४ प्रतिशतले सम्पत्ति गुमाएका छन् । दुवै कम्पनीको सेयर मूल्य १ सय २० रुपैयाँ कायम भएको छ । बेस्ट फाइनान्सको सेयरमूल्य २ प्रतिशतले झरेर ९८ रुपैयाँ कायम भएको छ । आइपिओ भन्दा तल मूल्य झर्ने एक मात्र फाइनान्स कम्पनी बेस्ट फाइनान्स बनेको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५ अर्ब कायम भएको छ ।