धनकुटाः नेपाल टेलिकमले धनकुटामा एफटीटीएच सेवा शु्रु गरेको छ । धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत् सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन सम्पर्क गरी सेवाको उद्घाटन गरे ।

राईसँग कुरा गर्दै प्रबन्ध निर्देशक अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत् श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराए ।

यस्तै, मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरे । उनले २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय तह र शहरमा एफटीटीएच सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी गराए ।

धनकुटामा जडान गरिएका २ ओटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत् ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने टेलिकमले जनाएको छ ।