झापाः मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ बजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएको छ ।
नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहनालाई परिपूर्ति गर्न एवम् नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल बनाउन तथा ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न विभिन्न नीति तथा कार्यक्रम अवलम्बन गरिएको जनाइएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सुशासन, बाल तथा लैङ्गिकमैत्री एवम् सामाजिक समावेशिता, वातावरण तथा पर्यावरणमैत्री, पर्यटनमैत्री एवम् गरिवी निवारणलाई प्रमुख आधार बनाइएको छ ।
स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनोट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्बन्धी नीतिलाई नगरका प्रमुख नीतिका रूपमा राखिएको छ ।
कार्यक्रममा सङ्घीय सांसद राम कार्की, १ नम्बर प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली तथा राधा थापा उपस्थित थिए । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।