धरानः अत्यधिक कर वृद्धि भएको भन्दै आन्दोलनरत नेपाली काङ्ग्रेसले धरानमा दोस्रो चरणको आन्दोलन शुरू गरेको छ ।आफूले दिएको १० दिनको अल्टिमेटम पूरा भए पनि कर समायोजनबारे उपमहानगरपालिकाले कुनै पहल नगरेको भन्दै काङ्ग्रेसले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन शुरू गरेको हो । विभिन्न वडाबाट सङ्कलन गरेको हस्ताक्षर बिहीबार उपमहानगरपालिकामा बुझाउँदै काङ्ग्रेसले थप आन्दोलनको घोषणा गरेको हो ।
काङ्ग्रेसले करवृद्धिको विरोधमा हरेक दिन १ घण्टा उपमहानगरपालिकाको मूल गेटमा धर्नाको कार्यक्रम घोषणा गरेको छ । बिहीबार हस्ताक्षर बुझाउन गएको काङ्ग्रेसले मूल गेटमा धर्नासँगै नाराबाजीसमेत गरेको थियो । काङ्ग्रेसले वडाहरूबाट सङ्कलन गरेको करिब ५० हजार हस्ताक्षर नगरका कार्यवाहक प्रमुख मणिराम राई र प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेलाई बुझाएका थिए ।
काङ्ग्रेस सभापति तिलक राईले अल्टिमेटम सकिँदा पनि आफूहरूको माग पूरा नभएकाले दोस्रो चरणको आन्दोलन शु? गरेको बताए । उनका अनुसार प्रत्येक दिन धर्नाको समय बढाउँदै लगिनेछ ।
‘पहिलो चरणको आन्दोलनमा हाम्रो माग पूरा भएन । त्यसैले दोस्रो चरणको आन्दोलन थालनी गरेका छौं,’ सभापति राईले भने, ‘अब हरेक दिन उपमहानगरपालिका अघि धर्ना बस्छौं, धर्नाको समय पनि बढाउँदै लैजान्छौं ।’ कर वृद्धिको विषयमा थप स्पष्ट पार्न शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिने पनि सभापति राईले जानकारी दिए ।
हस्ताक्षर बुझ्दै कार्यवाहक मेयर तथा वडा नम्बर २० का अध्यक्ष राईले कर वृद्धिको विषयमा उठिरहेको माग र आवाजबारे कार्यपालिकाले आवश्यक छलफल गर्ने बताए । लोकतन्त्रमा विरोध हुनुलाई आफूहरूले स्वाभाविक रूपमा लिएको र कमीकमजोरी भएको भए स्वीकार गर्दै अघि बढ्ने पनि उनले बताए । राईले भने, ‘काम गर्ने सिलसिलामा कमीकमजोरी भएको हुन सक्छ । त्यस्तो हो भने तपाईंहरूले हामीलाई सचेत गराएको हुन सक्छ । यो भावनाको अनादर गर्नुहुन्न । उपमहानगरपालिकाले आवश्यक छलफल गर्नेछ ।’
धर्नाको क्रममा काङ्ग्रेसका स्थानीय नेताहरूले भाषण गर्दै कर वृद्धिको चर्को विरोध गरेका थिए । महिला नेतृ निर्मला शाक्यले कर वृद्धिले सम्पूर्ण जनतालाई मार परेकाले समायोजन नभए धराने जनता उर्लिएर घेराउ गर्न आउने चेतावनी दिइन् । बुथ सभापति लोकेन्द्र फागोले पनि आवश्यक परामर्श नगरी एकलौटी रूपमा कर वृद्धि गरेको भन्दै जनतालाई राहत दिन आग्रह गरे ।
त?ण दलका नगर सभापति हिमाल श्रेष्ठले जनताको कर तिर्न सक्ने हैसियतको ख्यालै नगरी वृद्धि गरेको भन्दै जनप्रतिनिधिहरू कर्मचारीको भरमा बढी परिरहेको बताए ।