इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न माग गरिएको छ । मेयर चौधरीले केही दिन अगाडि महिलामाथि बोलेको असभ्य शब्दप्रति खेद व्यक्त गर्दै २१ वटा सामाजिक संस्थाले कारबाहीको माग गरेका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बुझाइएको ज्ञापनपत्रमा मेयर चौधरीमाथि कारबाहीको मागि गरिएको छ । मेयर चौधरीले बोलेका शब्दले नेपालमा रहेका ५१ प्रतिशत महिलाको अपमान भएको ज्ञापनपत्रमा उल्लेख गरिएकोछ ।
असार ४ गतेको सो घटनामा गल्ती भएको भन्दै असार ६ गते चौधरीले प्रेस विज्ञप्ती जारी गरेका थिए । तर विज्ञप्तीमार्फत् माफी मागेर मात्र क्षमा दिन नसकिने र दिन नहुने ज्ञापनपत्रमा उल्लेख छ ।
यस्ता अराजक गतिविधि गर्ने मेयरलाई कारबाही नहुँदा कानुनी राज्यको उपहास हुने ज्ञापनपत्रमा उल्लेख गरिएकोछ । मुलुकी फौजदारी संहिताको परिच्छेद १० को दफा १६८ मा ‘भेदभाव तथा अन्य अपमानजनक व्यवहारसम्बन्धी कसुर’ उल्लेख भएकाले मेयर चौधरीले सम्पूर्ण महिला जगतकै अपमान गरेको हुनाले कारबाहीको माग गरिएको उल्लेख छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १, मानवअधिकार आयोग केन्द्रीय कार्यालय, राट्रिय महिला आयोग केन्द्रीय कार्यालय लगायत १३ संस्थालाई बोधार्थ बुझाएको ज्ञापनपत्रमा मेयर चौधरीमाथि छानबिनसहित कानुनी कारबाहीको माग गरिएको छ ।