बेलबारीः मोरङमा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ । रङ्गेली नगरपालिका–९ दोमना बजारमा बुधबार दिउँसो ३ बजे परेको चट्याङका कारण २ जना बालकको मृत्यु भएको छ ।
चट्याङ लागेर रङ्गेली–९ का १५ वर्षीय राजु ऋषिदेव र १६ वर्षीय अभय ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा हिँडिरहेका बेला वर्षासँगै परेको चट्याङले लागेर उनीहरू घाइते भएका थिए । घाइतेको उपचारका लागि अस्पताल पु¥याउनासाथ दुवै जनाको मृत्यु भएको हो । दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रङ्गेलीमा राखिएको छ ।
यसैगरी, खोलामा बाँसको अस्थायी पुल बनाउँदै गर्दा चट्याङले लागेर मोरङमा १ जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा उनलाई अचानक चट्याङको झट्काले लागेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मियाँको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मङ्गलबार राती मृत्यु भएको हो । बर्खायाममा खोला बढेर बाढी आउँदा तर्न समस्या हुने भएपछि मलाहा टोलका स्थानीय बासिन्दाले रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने गरेका छन् । बर्खा लाग्नासाथ सो टोलका बासिन्दालाई खोला वारपार कसरी गर्ने भन्ने चिन्ता हुने गरेको छ । पक्की पुल नबनेका कारण त्यहाँका स्थानीय बासिन्दाले प्रत्येक वर्ष आवतजावत गर्न बाँसको अस्थायी पुल बनाउने गरेका छन् ।