धरानः ‘प्रदेश सरकारले हामीलाई यो त हाम्रो यूनिट हो भन्यो, हाम्रो सहअस्तित्व स्वीकार गरेन ।’, ‘मलाइ त प्रदेश सरकारको भर लाग्न छाडिसक्यो ।’
माथिको भनाइ इटहरीका मेयर द्वारिकलाल चौधरीको हो । ट्राफिक प्रहरीले धरानमा आयोजना गरेको सडक शुसासन बारे वक्ता बनेर आइपुगेका चौधरीले प्रदेश सरकारप्रति एक पछि अर्को गर्दै असन्तुष्टिकाे प्रहार गरे ।
आफुुले सडक चौडा बनाउने अभियानमा कसैले सहयोग नगरकोप्रति लक्षित गरेर चौधरीले मुख्यमन्त्री र सडक विभागप्रति कटाक्ष गरेका हुन् । सडकको अवरोध हटाउनेबारे कसैले सहयोग नगरेको भन्दै ट्राफिकले गरेको काममा समेत आफुप्रति मुर्दावादका नारा लागेको दुखेसो पोखे ।
सरकारी निकायको समन्वय नहुँदा हिम्मत भएर पनि काम गर्न नसकिएको मेयर चौधरीको भनाइ थियो । इटहरीको बुढिखोलादेखि वालग्राम चौकसम्म सडक फराकिलो बनाउँदा आफुलाई ह्याब्भि इक्वीपमेन्ट चाहिए पनि इटहरीमा नै रहेको सडक विभाग कार्यालयमा त्यस्ता मेसिन त्यसै थन्किरहेकाे बताए । भने ‘नगरपालिकालाई चाहिँदा उपलब्ध हुँदैनन भने तिनका काम के हुन ?’ उनले प्रश्न गरे ।
सडकमा खाल्डो पर्दा पनि मेयरलाई नै गाली गर्ने संस्कृती बढेको भन्दै फेसबुकमा लेख्नेले कुरो नबुझि लेखिदिँदा दिक्दारी लागेको गुनासो सुनाए । ‘कर्मचारीले हिम्मत नगर्ने, अख्तियारमा आफुले बयान दिन जानुपर्ने’ उनले भने ‘मैले तीन पटक बयान दिइसके, गल्ति गरेको छुइन, अख्तियारमा पनि जब्बर भएर जवाफ दियाे मेयर भने।’
उनले सडक विस्तारका क्रममा ८२ फिटको कुरा आएपनि आँफु भने १०५ फिट नै ठोकिदिने दाबी गरे । अन्तरसरकारी संरचनाले सडक शुसासन नीति कुल्चिएको उनको आरोप छ । ‘विजुली र टेलिफोनको तार लग्ने खम्बा सडकको बिचनमा किन गाडेको ?’ चौधरीको प्रश्न छ । 'अनि अरूले सडककाे मापदण्ड मिच्दैनन त ?' सरकारी निकायकाे काम गर्ने तरीकाले अाफु अाश्चर्यमा परेकाे र सिस्टमले सबैलाइ हैरानी बनाएकाे तर्क सुनाए । कर्मचारीतन्त्र र सडकसँग सम्बन्धित निकायका कार्य हेर्दा कसैले केहि गर्न नसक्ने देखिएकाे बताए । उनले भने ‘शेरधनले त सक्नुहुन्न, म जाबो द्वारिकलाल को हो र ?’
निरन्रत प्रदेश सरकारप्रति कटाक्ष गर्दै बोलेका मेयर चौधरीले मुुख्यमन्त्री शेरधन राईलाई प्रश्न तेर्साएका थिए । उनले प्रदेश सरकारले स्थानीय सरकारको अस्तित्व स्वीकार नगरेको देखि काम गर्न हिम्मत नगरेको भन्दै आरोप पनि लगाएका थिए ।
६ लेन सडक विस्तारमा काम छिटो सम्पन्न गर्न र अवरोध हटाउने बारे प्रदेश सरकारले उल्लेखिय भुमिका नखेलेको उनको बुझाइ थियो । मेयरले स्थानीय सरकारलाई प्रदेश सरकारले साथ दिने प्रतिबद्धता दिन आग्रह गरे । भने –‘ स्थानीय सरकार तिमी अघि बढ हामी छौँ भन्नुपर्यो । नत्र भाषण सुनाउन बोलाएको हो भने काम छैन ।’
मुलुक बनाउन त्याग चाहिने भन्दै आफु त्यसका लागि तयार भएको सुनाए । मुख्यमन्त्रीलाई लक्षित गर्दै ठट्यौली पारामा चौधरीले – ‘मुलुक बनाउने हो भने ठुलै त्याग चाहिन्छ । मुख्यमन्त्रीले त त्याग नै गर्न पर्दैन । वहाँले घरबारै गर्या छैन ।’
हलभरी हाँसो गुञ्जियो ।