सङ्खुवासभाः सङ्खुवासभामा पछिल्लो ६ महिनामा ७ बालिकामाथि यौन दुव्र्यवहार भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सङ्खुवासभाले गत जनवरीदेखि हालसम्मको घटनामा आधारित रहेर सार्वजनिक गरेको तथ्याङ्क हो यो ।
इन्सेकका अनुसार ६ महिनाको अवधिमा महिलामाथि बलात्कारको घटना ३ वटा भएका छन् भने एक महिलालाई बलात्कारको प्रयास गरिएको छ । इन्सेकका अनुसार जनवरीदेखि हालसम्म ४ जनाको हत्या, १ जनाको हत्या प्रयास भएको छ । जिल्लामा ६ महिनाको अवधिमा १७ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी गर्दै इन्सेकले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर रामेश्वर पण्डितले इन्सेकले प्रकाशन गर्ने वर्षपुस्तक एउटा दस्ताबेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए । उनले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिँदो परिस्थितिअनुसार इन्सेक अगाडि बढ्नुपर्ने बताए ।
सहभागीहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए । इन्सेकले प्रत्येक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ भने प्रकाशन पूर्व प्रत्येक वर्षको २ पटक समीक्षा कार्यक्रम गर्ने गरेको छ ।