इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिकाका महिलाहरूको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ । महिमा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तालीमको देवानगञ्ज– २ का वडाध्यक्ष मजलुम मियाँले उद्घाटन गरेका थिए ।

तालीममा देवानगञ्जका ४१ जनाभन्दा बढी महिला सहभागी थिए । तालीममा विकास निर्माणमा महिलाहरूको सक्रिय सहभागिता, महिलाहरूको सवाल, नीतिनिर्माणमा महिलाहरूको भूमिका, समुदायमा महिला परिचालन र निर्णय प्रक्रियामा महिलाहरूको उपस्थितिजस्ता विषयमा छलफल भएको थियो ।

तालीमको आयोजक संस्थाकी अध्यक्ष मीनादेवी मेहताले परिवर्तनका संवाहक महिला भएकाले हरेक निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता आवश्यक रहेको बताइन् ।