बेलबारीः मोरङको सुन्दरहरैंचाकी १ जना महिलाले कतार पुगेको २ महिना नबित्दै उद्धारका लागि आग्रह गरेकी छिन् । सुन्दरहरैंचा नगरपालिका–१० की तीर्था बिकले आफूलाई चाँडो उद्धार गरेर नेपाल झिकाइदिन आग्रह गरेकी हुन् ।

बिकले श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग यस्तो आग्रह गरेकी हुन् । गत जेठ १४ गते नेपालकै बाटोबाट कतार पुगेकी उनले दोहोरो टेलिफोन संवादमा त्यहाँ आफूले भोगेका सबै पीडा सञ्जेललाई सुनाइन् । ‘आफ्ना पीडा पोख्ने क्रममा फोनमै उनी धेरै बेर रोइन्’, सञ्जेलले भने ।

कतारको घाजी अब्बु ट्रान्सपोर्ट एण्ड सर्भिस नामक कम्पनीले बन्धक बनाएर राख्दै आफूलाई विभिन्नखाले यातना दिइरहेको तीर्थाले सुनाइन् । अस्पताल र स्कुल सरसफाइको काममा भनेर लगिए पनि अहिलेसम्म आफूलाई काममा नलगाई कुटपिट गर्ने, राम्ररी खान नदिने, दुव्र्यवहार गर्ने, अनैतिक काम गर्न दबाब दिने र सेवा सुविधा समेत नदिने गरेको तीर्थाको गुनासो छ ।

उनको गुनासो सुनेपछि सञ्जेलले तत्काल युवतीको उद्धारका लागि पहल गरिने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । मेनपावरको कमजोरीका कारण समस्या भएको उनले बताए ।

तीर्थाकी आमा सीताले मङ्गलबार सुनसरीको इटहरीमा रहेको विराट इन्टरनेशन टे«ेनिङ सेन्टरका सञ्चालक गोपाल पोखरेलविरुद्ध उजुरी दिएकी छिन् । कार्यालयले त्यस उजुरी उपर छानबिन अघि बढाइसकिएको जनाएको छ । छोरीलाई यातना दिइरहेको कुरा कतार पठाउनेलाई पनि सुनाएको तर वास्ता नगरेको सीताको गुनासो छ । उनले तत्काल छोरीको उद्धारमा सहयोग गर्न र दोषीमाथि कारबाही अघि बढाउन माग गरिन् ।

यता, दलित युवतीलाई कतार पठाएर बिचल्ली बनाएको आरोप लागेका पोखरेलले भने आफ्नै सेन्टरमा तालीम दिए पनि आफूले तीर्थालाई कतार नपठाएको बताए । उनले आफू सम्पर्क व्यत्ति mभएर काठमाडौंको सिन्धुली ओभरसिज नामक मेनपावरलाई जिम्मा लगाएर त्यहीँबाट उनी कतार गएको बताए ।

सञ्जेलले विदेश जानेलाई लक्षित गरेर ट्रेनिङ सेन्टर सञ्चालन गरेर बसेकाले सम्पर्क व्यक्ति बनेर वा आफँै संलग्न भएर कोहीकसैलाई पनि विदेश पठाउन नपाउने जानकारी दिए । ‘विदेश पठाउनका लागि उसको नाममा मेनपवार नै दर्ता हुनुपर्छ,’ उनले भने ।

पोखरेलसँगको सम्पर्कका आधारमा दलित युवतीलाई कतार पठाउने सिन्धुली ओभरसिजका सञ्चालक गौतम केसीले तीर्थालाई कतारमा कुनै पनि समस्या रहेको कुरा आफूले थाहा नपाएको बताए ।

परिवारका सदस्यले समस्या छ भनेर भने पनि कम्पनीले चाहिँ भनेअनुसारकै काम लगाएको भन्ने जानकारी दिएको उनले बताए । कडा कानुन भएको देश कतार भएकाले महिलालाई त्यहाँ दुव्र्यवहार हुने सम्भावना कम रहने केसीको जिकिर छ ।

तीर्थासँगै कतार गएका अन्य ४ जना युवतीले भने आफूहरूलाई सहज लागेको बताएको उनको भनाइ छ । उनले आफू पनि तीर्था र उनका परिवारसँग निरन्तर सम्पर्कमा रहेका कारण युवती पीडित भएको पुष्टि भए उद्धार गरेर नेपाल ल्याउन गाह्रो नहुने बताए ।