धरानः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान, धरानका उपकुलपति राजकुमार (आरके) रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेको हो ।

भवन निर्माणको भुक्तानीका लागि उनले घुस लिएका थिए । घुस लिएर उनले भजिता रामहरि रौनियारलाई राख्न दिएका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। प्रतिष्ठानमै पढ्ने रामहरिको कोठाबाट घुस बरामद भएकोको प्रवक्ता कोइरालाले बताए। प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनको नाममा घुस मागिरहेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए।

...........................................................................................................................................................

 

विज्ञप्ति :- मिति २०७६।०३।२६ गते

----------------------------------------------------
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित नियन्त्रणमा
----------------------------------------------------
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

प्रदीपकुमार कोइराला
प्रवक्ता