विराटनगरः निरन्तरकाे वर्षा पछि अाएकाे बाढि तथा पहिराेले प्रदेश १ मा ९ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरिक्षक ठाकुरप्रसाद ज्ञावलीकाअनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक एक गरेर ९ जनाको मृत्यु भएको हो ।

तराईका अधिकाँस खोलामा बाढी आउदाँ सयौँ घर डुवानमा परेका छन् । मोरङ ५ सय घरका करिव २ हजार जनालाई सुरक्षित स्थानमा राखिएको माेरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिएका छन् ।

यसैबीच प्रदेश विपद् व्यबस्थापन समितिको बैठकले राहत र उद्धारलाई जोड दिने निर्णय गरेको छ । प्रदेश १ का कार्यवाहक मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई प्रभावकारी रुपमा लैजाने निर्णय गरेको हो । आवश्यक पर्ने सबैखाले उद्धार र राहतका लागि प्रदेश सरकारले तयारी गरेको जानकारी मन्त्री कार्कीको भनाई छ । विद्युत गृहदेखि पुलसम्मको सुरक्षाकालागि आवश्यक तयारी थालिएको उनले बताए ।

यसैबीच निरन्तर वर्षा भएपछि प्रदेश एकका मन्त्रीहरु बाढी डुवान र कटानका क्षेत्रमा आफै पुगेका छन् । आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो आफै फिल्डमा पुगेका हुन् । इटहरी विराटनगर सडकखण्डमा पर्ने दुहबी पुल भत्किने खतरा बढेपछि त्यहाँ आफै पुगेर मन्त्रीहरुले अवलोकन र निरिक्षण गरेका छन् ।

उनीहरुले त्यहाँ पुललाई जोगाइराख्न आवश्यक पर्ने सबै तयारी गर्न निर्देशन दिएका छन् । मोरङको कसेनी लोहन्द्रा खोला किनारमा रहेको एक सय ३३ केभी प्रशारण लाइनको पोल बाढीले भत्किन लागेको ठाँउको समेत शुक्रबार अवलोकन गरेका छन् ।

67062663_2791821297514670_8782542576482779136_n