ताप्लेजुङः ताप्लेजुङ प्रहरीले ४ महिनाको अवधिमा २ सय ६३ थान हातहतियार बरामद तथा सङ्कलन गरेको छ ।
गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियान अन्तर्गत १ सय २५ थान र त्यस यता १ सय ३८ थान गरी २ सय ६३ थान हतियार बरामद तथा सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सङ्कलित हतियार शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
सङ्कलित हतियारमध्ये २ सय ५ थान अवैध र ५८ थान इजाजत प्राप्त हतियार रहेको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए । ४ महिनाको अवधिमा नै यति धेरै हतियार सङ्कलन गर्न सफल भएको भन्दै थापाले अन्य जिल्लाको तुलनामा ताप्लेजुङ पहिलो हुन सक्ने बताए ।
ती हतियारमध्ये कतिपय स्थानीयले आफै बुझाएका थिए भने कतिपय हतियार बनजङ्गल तथा पहरामा लुकाइछिपाइ राखिएको अवस्थामा सङ्कलन भएको प्रहरीको भनाइ छ । ती हतियारमध्ये भरुवा बन्दुक २ सय ५३ नाल, सर्ट गन २ नाल, १२ बोरे जोर नाले ५ थान, टु.टु. १ थान, म्याग्नाम १ थान, रिवलभल १ थान र त्यसको ३ राउण्ड गोली रहेका छन् । अन्य बन्दुकका २ राउण्ड गोली समेत छन् ।