इटहरीः स्थानीय र प्रदेशका ‘भिआइपी’हरू गरेर प्रदेश १ मा १ सय १० जना रातो पासपोर्टधारीहरू रहेको देखिएको छ । प्रदेश प्रमुख गोविन्द सुब्बा, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारीसहित प्रदेशका मन्त्री र सांसदहरू सबै रातो पासपोर्टधारीहरू रहेका छन् ।
यस्तै, प्रदेश १ को महानगर विराटनगर महानगरपालिका तथा इटहरी उपमहानगरपालिकाका मेयरका साथै जिल्ला समन्वय समितिका प्रमुखको पनि रातो पासपोर्ट रहेको छ । प्रदेश १ का प्रदेश प्रमुखसहित मुख्यमन्त्री, मन्त्री, सभामुख र सांसदहरू गरेर ९३ जना रातो पासपोर्टधारी छन् । १४ जिल्लाका जिसस प्रमुख र विराटनगर तथा इटहरीका मेयर गरेर १ सय १० जनाको रातो पासपोर्ट रहेको छ ।
सङ्घीय संसद् र मन्त्रिमण्डलका सदस्यहरू तथा अन्य पासपोर्टधारी भिआइपीहरू यहाँ गणना गरिएको छैन ।
कसले पाउँछन् रातो पासपोर्ट ?
पहिले केन्द्रीकृत राज्यसत्ता हुँदा केन्द्रका केहीले मात्रै पाउने रातो पासपोर्ट अहिले प्रदेश र स्थानीय तहका ‘विशिष्ट’हरूले पनि पाउँछन् । जसअनुसार प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, मन्त्री, सांसद हुँदै जिल्ला समन्वय समितिका प्रमुख र महानगर तथा उपमहानगरका प्रमुखले रातो पासपोर्ट पाउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले २०७४ साल चैत १२ गते स्थानीय र प्रदेश तहका विशिष्टहरूलाई पनि रातो पासपोर्ट दिने व्यवस्था गरेको थियो ।
पहिलेपहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष÷ उपाध्यक्ष, सांसदहरूले रातो पासपोर्ट पाउँथे । यस्तै, प्रधान न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, निजामती र सुरक्षा निकायका विशिष्ट श्रेणीका अधिकारी, राजदूत तथा कूटनैतिक कर्मचारीले मात्रै रातो पासपोर्ट पाउँथे ।
के हो रातो पासपोर्ट ?
रातो पासपोर्टलाई कूटनीतिक राहदानी भनिन्छ । यस्तो पासपोर्टधारीलाई विदेश यात्रा गर्दा विमानस्थलमा कूटनैतिक व्यक्तित्वको रूपमा राम्रो सत्कार हुन्छ । अन्य सामान्य यात्रुजस्तो झण्झट हुँदैन । रातो पासपोर्टलाई विशेष राहदानी पनि भनिन्छ । यस्तो पासपोर्ट पाउन सबै स्थानीय तहका पदाधिकारीहरूको माग छ ।
हालै काठमाडौंमा भएको नगरपालिका महासङ्घको कार्यक्रममा केही महानगर र उपमहानगरका उपमेयरहरूले आफूहरूले पनि रातो पासपोर्ट पाउनुपर्ने माग राखेका थिए । कूटनीतिक प्रयोजनको लागि दिइएको रातो पासपोर्ट धरैले फिर्ता नगर्ने र कतिपयले व्यक्तिगत फाइदाको लागि दुरूपयोग गर्ने गरेको समाचार बेलाबेलामा आउने गर्छ ।