इलाम/ इलामको चुरे क्षेत्रका सामुदायिक वनहरूबाट पछिल्लो समय अवैध रूपमा काठ तस्करी बढ्दै गएको छ ।
जिल्लाका चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको दक्षिणी सेक्टर वन कार्यालय सुखानीको तथ्यांकले देखाउँछ । पर्याप्त जनशक्तिको अभावका कारण काठ तस्करहरूले दिनप्रतिदिन तस्करी गरिरहेका भए पनि पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको दक्षिणी सेक्टर कार्यालय सुखानीका वन अधिकृत रितेषभूषण बस्नेतले स्वीकार गरे ।
सामुदायिक वनका पदाधिकारीहरू वन संरक्षणमा उदासीन देखिएका कारणले पनि पछिल्लो समय चोरी तस्करी बढेको बस्नेतको भनाइ छ । यसैबीच आइतबार राती इलामको माई नगरपालिका–१ पाल्टारबाट सशस्त्र प्रहरी बेस क्याम्प दानाबारी र वन कर्मचारीको टोलीले १ सय १५ दशमलव ५७ क्युबिक फिट चिरान काठ बेवारिसे अवस्थामा बरामद गरेको छ । ५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त चिरान काठ माइ खोलाको बाटो गरी लग्दै गरेको सूचना पाएपछि प्रहरी र वनरक्षकको टोली सो स्थानमा पुगेको थियो । गस्ती टोली पुग्दा तस्कर काठ छोडी फरार रहेकाले पहिचान हुन नसकेकोे बस्नेतले बताए । बरामद काठ दक्षिणी सेक्टर वन कार्यालयमा राखिएको छ । पाल्टारबाट बेवारिसे काठ बरामद गरेर कार्यालय आइपुगेको टोलीले पुनः सोमबार बिहान ३ बजे बिरिङ खोलाको किनारबाट पिकअप सहित काठ बरामद गरेको छ । मे १ ज १४४८ नम्बरको पिकअपमा लोड गरेर झापा तर्फ लग्दै गरेको ३६ दशमलव ३ क्युबिक फिट ७ वटा गोलिया बरामद गरिएको हो । सेक्टर वनको टोलीलाई देखेपछि पिकअपमा सवार ३ जना काठ र गाडी छोडी भागेको बस्नेतले बताए । गोलिया २ घण्टा अघिमात्र काटिएको सेक्टर वन कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता र झापासँगको सिमानाको फाइदा लिँदै तस्करहरू
इलामको दक्षिणी क्षेत्र चुलाचुली भौगोलिक रूपमा विकट भएका कारण विगतमा पनि यस क्षेत्रबाट ठूलो परिमाणको काठ झापा लगायतका क्षेत्रमा तस्करी हुने गथ्र्याे । गत आइतबार चुलाचुली क्षेत्रबाट २ वटा साइकलसहित चिरान काठ बरामद गरिएको थियो । त्यसअघि जेठ ५ गते ना ४ प ७८३ नम्बर लेखिएको अनटेस्ट टिपरबाट १ सय ४६ दशमलव ९६ क्युफिट चिरान काठ प्रहरी चौकी पेल्टीमारीले पक्राउ गरेको थियो ।
टिपर र चालक मोरङ उर्लाबारी–३ निवासी २९ वर्षीय पदम ढुंगानालाई नियन्त्रणमा लिएर इलाका वन कार्यालय चुलाचुलीमा बुझाइएको थियो । चुलाचुली क्षेत्रमा तस्करी नियन्त्रणका लागि जिल्ला वन कार्यालयसँग भएको स्रोत साधन अधिकतम परिचालन गरी रोक्ने प्रयास गरिरहे पनि संगठित रूपमा हातहतियार सहित तस्करी भइरहेका कारण सफल हुन नसकेको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए ।
इलामको वन तस्करीका लागि झापाको दमक, बिर्तामोडसहितका सहरमा मात्र नभई भारतसम्म तस्करहरूको ठूलो सञ्जाल रहेको दक्षिणी सेक्टर वन अधिकृत रितेषभूषण बस्नेत बताउँछन् । ‘वनमा भेटिएका कामदार मात्र हु्न्, उनले भने । तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र झापा पु¥याउने छुट्टै समूह प्रयोग गर्ने गरेको उनको भनाइ छ । दमक बजार चुलाचुली निकट रहेकाले जति पनि काठ खपत हुने भएपछि सो क्षेत्रमा तस्करी मौलाएको हो । तस्करहरूले झापामा बसेर लगानी गर्ने गरेको बस्नेतको भनाइ छ । जति केरकार गर्दा पनि पक्राउ परेकाहरूले मुख्य तस्करको पहिचान नखुलाउने उनले बताए ।
सामुदायिक वनका पदाधिकारी उदासीन
‘सामुदायिक वनबाट वन कार्ययोजना विपरीत अवैध रूपमा सालका रूख फँडानी कार्य तीव्र छ । सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो भएको समेत पाइएको छ ।’ बस्नेतले भने, ‘धेरै कमाउने आशमा वनका पदाधिकारीहरूले तस्कहरूसँग साँठगाँठ गरी झापासम्म काठ पु¥याउन सहयोगीको भूमिका निर्वाह गर्ने गरेका छन् ।
झापाका स– मिलहरूले प्रति क्युफिट ४ हजारभन्दा बढी मूल्यमा सालको काठ खरिद गर्ने गरेका छन् ।’ जिल्ला वन र सेक्टर वनसँगको समन्वयमा तस्करी नियन्त्रणका लागि प्रयास भए पनि सामुदायिक वन समूह निस्क्रिय बन्दा नियन्त्रणमा चुनौती थपिएको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले भने, ‘२ महिना अघि नीतिगत रूपमा वन वातावरण समिति बनाएर गोष्ठी एवम माइकिङ गरिए पनि तस्करीमा खासै नियन्त्रण आउन सकेको छैन ।’ जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिलेदेखि नै तस्करी मौलाएकाले नियन्त्रणका लागि प्रयास भइरहेको अध्यक्ष राईले बताए ।