इलामः इलाम नगरपालिका–३ मकैबारीमा ४ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन् ।

इलाम र पाँचथरको सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी पौवा पाँचथरको संयुक्त टोलीले ४ थान बन्दुक र त्यसमा प्रयोग हुने बारुद, फलामका टुक्रा लगायतका खरखजना बरामद गरेको प्रहरीले जनाएको छ ।

गस्ती टोलीले खड्ग बहादुर राई र सनम फागोको गोठ खानतलासी गरेको थियो । खानतलासीकै क्रममा राम कुमार राई बसेको गोठमा बारुद लोड भएको भरुवा बन्दुक एक थान र फलामका टुक्रा तथा बारुद फेला परेको थियो । त्यसैगरी मिन कुमार फागो बसेको गोठ बाट बारुद लोड भएको एक थान भरुवा बन्दुक र लोड नभएको २ थान भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद, फलामको टुक्रा लगायतका खरखजना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

हतियार अबैध रहेकोले उक्त हतियार तथा प्रयोगकर्ता ब्यक्ति,समुह र प्रयोजन को बिषयमा अबैध हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

pakrau