इटहरीः क्वीक रेस्क्यु टिम नेपालले हालैको बाढीपहिरोबाट पीडितमा भएकाहरुको राहतमा जुट्न सबैसँग अनुरोध गरेको छ । बाढीपहिरोले धेरै जनधनको क्षति हुँदा पनि सहयोगी हातहरू जुट्न नसकेको भन्दै व्यक्तिगत खर्चमा सञ्चालित रेस्क्यु टिमले सहयोगको लागि आग्रह गरेको छ ।
सो टिमले असार २९ गते मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका बाढीपीडितलाई राहत बाँडेको थियो । असार ३० गते सुनसरीको भोक्राहामा सो टिमले राहत वितरण गरेको थियो । सुनसरी खोलाले बाटोको कल्भर्टसमेत बगाएर हिँडडुलमा समस्या भएकाले डोरी लगाएर अस्थायी पुल बनाइएको क्वीक रेस्क्यु टिमका अध्यक्ष विक्रम वर्णवास येक्तेन लिम्बूले बताए । आफूहरूलाई बुधबार बिहान पनि सो क्षेत्रका बासिन्दाले फोन गरी थप राहतको आवश्यकता परेको भनी बताएको उनले बताए ।
असार ३१ गते मोरङको जहदा गाउँपालिकाको वीरपुरमा राहत सामग्री दिइएको र त्यहाँ अझै धेरै राहतको आवश्यकता परेको उनले बताए । व्यक्तिगत खर्चमा उद्धार कार्यमा लागिरहेको र त्यसरी सहयोग गर्न गाह्रो भएको हुनाले सबैसँग सहयोग सङ्कलन गरी राहत वितरणमा लाग्ने योजना रहेको उनले बताए ।
सो टिमका स्वयम्सेवक झापा, मोरङ, सुनसरी र काठमाडौं उपत्यकामा दिनरात व्यक्तिगत खर्चमा खटिइरहेका र व्यक्तिगत खर्चमा मात्रै राहत वितरण गर्न नसकिने भएको हुँदा राहत सङ्कलनको लागि अपिल गरिएको लिम्बूको भनाइ छ ।
सरकारको क्वीक रेस्क्युको टिम सेना, प्रहरी र सशस्त्र भएजस्तै नागरिकको तर्फबाट क्वीक रेस्क्यु टिम तयार गरिएको हुनाले सबैको साथ आवश्यक रहेको उनी बताउँछन् । विपत जनतालाई नै पर्ने हुनाले स्वयम्सेवी भावनाको विकास गर्दै अघि बढ्न जनताको साथ खोजिएका उनले सुनाए । सर्वसाधारणलाई सेल्फ रेस्क्युको लागि तालीम दिने योजनामा संस्था रहेको उनी सुनाउँछन् ।