खाँदबारीः १५ दिनअघि भदौ ३ गते सङ्खुवासभाको मादी नगरपालिकामा भरुवा बन्दुकको गोलीले लागेर १ जनाको ज्यान गयो । मादी नगरपालिका वडा नम्बर ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
तामाङका भाइ रत्नबहादुर र छिमेकी कृष्णबहादुर तामाङ पनि सँगै गएका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, २ वटा नाल र मेटासिटको बट्टामा रहेको भरुवा बन्दुकमा प्रयोग हुने अन्दाजी ५० ग्राम बारुद प्रहरीले बरामद गरेको छ । त्यस्तै, गोलीको रूपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट समेत प्रहरीले बरामद गरेको छ ।
यता, गत जेठ १२ गते पनि धर्मदेवी नगरपालिकामा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोलीले लागेर ३१ वर्षीय योगेन्द्र पौडेलको ज्यान गयो । पौडेलसँगै शिकार खेल्ने चिरञ्जीवि अधिकारी र चन्द्रसुन्दर अधिकारी पनि गएका थिए ।
यी घटनाले जिल्लामा वन्यजन्तुको शिकार गर्ने क्रम पनि बढिरहेको देखाउँछ । त्यस्तै लुकाएर राखिएको भरुवा बन्दुक पनि नियन्त्रण हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले घरमा भएका हतियार बुझाउनू भनी समयसमयमा सार्वजनिक सूचना जारी गरे पनि त्यसको प्रभाव परेको छैन ।
वन्यजन्तुको शिकार गरे कडा कारवाही गर्ने भनी राज्यले भनिरहेको छ र कारवाही पनि गरिरहेको छ । कानुनसँग अनभिज्ञ कोही पनि छैनन् । तर पनि जिल्लामा जङ्गली जनावरको शिकार खेल्ने क्रम भने बढेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालले मात्रै यस्ता हतियार नियन्त्रण गर्न नसक्ने देखिएको छ । जिल्लामा गठित विभिन्न युवा समूहहरूको सहयोग लिएर काम गर्न सक्ने देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा प्रहरी नायब उपरीक्षक कमल थापा प्रमुख हुँदा एकै पटक १२ थान भरुवा बन्दुक बरामद भएका थिए । प्रहरीले मत्स्यपोखरी गाविसमा बेवारिशे अवस्थामा १० थान र तामाफोक–९ मा २ थान भरुवा बन्दुक बरामद गरेको थियो ।

भरुवा बन्दुक बरामद हुन छाड्यो
हाल भरुवा बन्दुक उल्लेख्य रूपमा बरामद हुन नसके पनि अन्य हतियार भने बरामद भइरहेका छन् । गत जेठ ३१ गते पेस्तोल र गोलीसहित १ जना युवक पक्राउ परे । सिलिचोङ गाउँपालिका–५ याफु स्थायी घर भएका ३५ वर्षीय केदार राईलाई एक अटोमेटिक पेस्तोल, २ वटा म्यागजिन र १४ राउण्ड गोलीसहित प्रहरीले फेला पा¥यो ।
त्यस्तै, गत असार २१ गते प्रहरीले आधुनिक हतियार सहित ५ जनालाई सार्वजनिक ग¥यो । सिलिचोङ गाउँपालिकाका केदार राई, पूर्णकुमार राई, सूर्यबहादुर राई, चिचिला गाउँपालिकाका सुरेन्द्र राई र भारत विहारका मोहम्मद मुन्ना खानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिलिचोङका केदार राईलाई खाँदबारी नगरपालिका–३ बाट जेठ ३० गते पक्राउ गरेपछि हतियारको रहस्य खुल्न आएको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ७६५७ राउण्ड इन युएसए लेखिएको १ थान पेस्तोल, १४ राउण्ड गोली, २ थान म्यागजिन, थ्री नट थ्री राईफल २ थान प्रहरीले बरामद गरेको थियो । त्यस्तै, कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग गरिने गोलीहरू र बिस्फोटक पदार्थ पनि बरामद गरिएको सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारुमगरले बताए ।
प्रहरीले उनीहरूबाट राइफलको १० थान गोली, गोलीको खोकाभित्र राखिएको बिस्फोटक पदार्थ, तारजडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रङको रिमोट पनि सार्वजनिक गरेको छ । भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायतका पदार्थ पनि भेटिएको उनले बताए । यतिका मात्राको हतियार कहाँबाट आयो र कहाँ लगिएको हो भन्ने चाहिँ खुल्न सकेको छैन ।
यसरी जिल्लामा पटकपटक अवैध हतियार बरामद हुँदै आएको छ । असुरक्षाको अवस्था र वनजङ्गलमा भइरहेको चोरी शिकारीले सङ्खुवासभामा अवैध हतियारको अवस्था भयावह रहेको देखिएता पनि प्रहरीले अभियान नै चलाएर हतियार बरामद गर्न भने सकेको छैन । प्रहरीले कुनै सुराकीको आधारमा वा शिकार खेल्दै गरेको अवस्थामा मात्रै पक्राउ गर्ने गरेको छ ।

कहाँबाट आउँछ हतियार ?
जिल्लामा यतिका मात्रामा हतियार कहाँबाट आउँछन् भन्ने विषयको अनुसन्धान भइरहेको मगर बताउँछन् । ‘जिल्लामा यति अवैध हतियार छ भनेर सहजै अनुमान गर्न सक्ने अवस्था नभए तापनि सङ्खुवासभा हतियारको ट्रान्जिट प्वाइन्ट नै हो’, प्रहरी नायब उपरीक्षक मगरले भने, ‘यसका विरुद्ध हामी सक्रिय छौं । सङ्खुवासभामा बरामद भएको हतियारमा भरुवा बन्दुकबाहेक यहाँ प्रयोग भएको, पड्किएको पाइएन ।’ यहाँबाट हतियार अन्य जिल्लामा निर्यात भइरहेको बारेमा अनुसन्धान जारी रहेको उनको भनाइ छ ।
मगरले जिल्लाका दुर्गम भेगका नागरिकहरूका साथमा केही हतियार हुन सक्ने बताए । उनका अनुसार जिल्लाका धेरैजसो ठाउँमा जङ्गली जनावरले अन्नबाली खाएर किसानलाई हैरान बनाएपछि जनावरलाई तर्साउन प्रयोग गर्ने पनि पाइएको छ । द्वन्द्वकालमा लुकाएर राखिएका हतियार स्थानीयले बुझाउन नमानेको मगर बताउँछन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले आर्थिक वर्ष २०७४÷०७५ मा भरुवा बन्दुक ७ थान, थ्री नट थ्री राइफल २ थान, युएसए पेस्तोल २ थान र कटुवा पेस्तोल १ थान बरामद गरेको छ ।