भोजपुरः भोजपुर र खोटाङको सिमाना मैयुङ क्षेत्रमा भेडीगोठका एक हेरालुलाई दुई युवाले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

टेम्केमैयङ गाउँपालिका वडा नं. १ स्थित खर्कमा भेडा चराइरहेका षडानन्द नगरपालिका–९, किमालुङ निगालेका तेजिन्द्र बस्नेत घाइते भएका हुन् । उनलाई खोटाङको केपिलासगढी गाउँपालिका १ का सुमन राई र सिंगराज राईले धारिलो खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई भोजपुरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । खुकुरी प्रहार गर्ने २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।