काँकरभिट्टाः इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको १ घण्टा पनि बित्न नपाउँदै मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ ।

हिजो राति करीब साढे १० बजेतिर मेचीनगर–६ काँकरभिट्टाका मोहन रायको रातो रङको २ सय सीसीको को २१ प ३६७० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

घटनाका बारेमा जानकारी पाउनासाथ शङ्कास्पद क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार कार्यालयबाट खटिएको क्युआरटीको टोलीले १ घण्टा पनि बित्न नपाउँदै काँकरभिट्टा क्षेत्रबाट मोटरसाइकलसहित घटनामा संलग्न अर्जुनधारा—५ बस्ने १९ वर्षीय हरि राजवंशीलाई पक्राउ गरेको थियो ।

मोटरसाइकलधनीको लिखित जाहेरीका आधारमा राजवंशीलाई चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु भएकोे छ । उनलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयको मुद्दा शाखाले जनाएको छ । केही दिनयतादेखि झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि झापा प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।