इटहरी / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको बताएका छन् । नेपाल प्रेस युनियन इटहरीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले सरकार लाचार भएको बताए ।

आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको उनको भनाइ छ । तर सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम नगरेको डुबानको दीर्घकालीन समाधानको लागी कूटनैतिक पहल नगरेको उनले बताए ।
कार्यक्रमको सम्पूर्ण समय सरकारको विरोधमा खर्च गरेका उनले सरकार अनावश्यक कर लगाउन लागि परेको बताए । 'प्रेस स्वतन्त्रता माथि हमला भइरहेको छ', उनले भने, 'लेख्ने बोल्ने अधिकार कुण्ठित हुँदैछ । यो ओली सरकारले केही गर्दैन ।'

सरकारको नियन्त्रणमा मानवअधिकार हुन नसक्ने भन्दै उनले सरकार नसच्चिए काँग्रेस चुप लागेर नबस्ने उनको भनाइ छ ।