बिर्तामोडः इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धानात्मक अन्तर्वार्ता कक्ष र कार्यालय परिसरमा ‘चिल्ड्रेन कर्नर’ निर्माण गरेको छ ।

प्रहरीलाई अनुसन्धानमा सहजता पुर्याउनका लागि अन्तर्वार्ता कक्ष निर्माण गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी मोहनकुमार थापाले बताए । बाहिरको होहल्लाले असर नपार्ने सुविधासम्पन्न कक्ष पछिल्लो समय अनुसन्धानमा प्रहरीको न्यूनतम आवश्यकताभित्र पर्ने डीएसपी थापा बताउँछन् ।

बालबालिकासहित प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि चिल्ड्रेन कर्नर निर्माण गरिएको हो । चिल्ड्रेन कर्नरमा बालबालिकाका लागि विभिन्न प्रकारका खेल सामग्री राखिएको छ । बालबालिकालाई कर्नरमा राखेपछि अभिभावकलाई काम गर्न सहज हुने भएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ‘नमुना प्रहरी अवधारणा कार्यक्रम’ अन्र्तगत चिल्ड्रेन कर्नर र अनुसन्धानात्मक अन्तर्वार्ता कक्ष निर्माण भएको डीएसपी थापाले जानकारी दिए ।

चिल्ड्रेन कर्नरको लागत ४ लाख र अन्तर्वार्ता कक्षको लागत ७ लाख रुपैयाँ रहेको छ । इप्रका बिर्तामोड र काँकडभिट्टामा ८ लाख रुपैयाँको लागतमा डिजिटल डिस्प्ले बोर्डसमेत निर्माण हुने भएको छ । बिर्तामोडसहित दमक र धुलाबारीमा चिल्ड्रेन कर्नर निर्माण भएको छ भने अन्तर्वार्ता कक्ष भने बिर्तामोडमा मात्र निर्माण भएको हो ।

polic news birtamod  (1) - Copy