पथरीः नेपालमा पछिल्लो समय बढ्दै गएको सवारी चाप र साँघुरिँदै गएको सडकका कारण सवारी दुर्घटना बढ्दो क्रममा रहेका छन् ।

पैदलयात्री, सवारी चालक, सह–चालकलगायतले टा«फिक नियमको पालना गर्न सके बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिने सम्भावना पनि रहेको ट्राफिकको भनाइ छ ।

सडक दुर्घटना अरुको गल्तीको कारणले भन्दा पनि आफ्नो कमजोरीका कारण धेरै हुने गरेको टा«फिक प्रहरीको भनाइ छ । सडकमा धेरै सङ्ख्यामा मोटरसाइकल रहेका र दुर्घटना पनि बढी मात्रामा मोटरसाइकल नै पर्ने गरेको ट्राफिकको तथ्याङ्कमा छ ।

झरी, पानी, तुवाँलो, अनि चिप्लो सडकमा मोटरसाइकल चिप्लिने सम्भावना एकदमै उच्च रहन्छ ।

पछिल्लो समय मोरङको उर्लाबारीदेखि सुन्दरहरैंचाको बुढी खोलासम्मको सडक खण्डको टा«फिक व्यवस्थापन गर्दै आएको ट्राफिक प्रहरी कार्यालय पथरीको तथ्याङ्क हेर्दा विगत ३ वर्षमा सबैभन्दा धेरै दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल नै रहेका छन् ।

विगत २ वर्षमा ट्राफिक प्रहरी कार्यालय पथरी क्षेत्रभित्र भएका ४ सय ३८ दुर्घटनामा मोटरसाइकल दुर्घटना धेरै छन् । ती दुर्घटनामा १ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा भएका २ सय ७३ दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७४÷०७५ मा ३ सय १२ दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको थियो ।

कार्यालयका अनुसार सो कार्यालयको क्षेत्रभित्र २०७३÷०७४ मा ३ सय ९९ सवारी कार्वाहीमा परेका थिए भने २०७४÷०७५ यो सङ्ख्या बढेर ४ सय ७१ पुगेको छ । जसमा मोटरसाइकलको सङ्ख्या बढी छ । २०७३÷०७४ मा १ सय ९२ मोटरसाइकल, ६५ कार, जीप, भ्यान, ५९ बस, २९ ट्रक, १३ ट्याक्टर, ५ ट्याम्पो, १ ठेला रिक्सा र साइकल तथा ३५ अन्य सवारी दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष २०७४÷०७५ मा दुर्घटना झन् बढेको थियो । मोटरसाइकल २ सय ४६ ओटा दुर्घटना हुँदा ६४ कार, जीप, भ्यान, ४८ बस, ३१ ट्रक, २४ ट्याक्टर, १३ ट्याम्पो, ३१ ठेला रिक्सा र साइकल तथा १३ अन्य सवारी साधन रहेका थिए । यसरी हेर्दा सबैभन्दा वढि दुर्घटना मोटरसाइकल भएको तथ्याङ्कले देखाएको छ ।

पथरी ट्राफिक कार्यालयको ३५ किलोमिटर क्षेत्रभित्र ट्राफिक प्रहरी पोष्ट उर्लाबारी, बेलबारी, लेटाङ, गोठगाउँ विराटचोक रहेका छन् ।
पथरीमा २०५८ सालमा ट्राफिक कार्यालय स्थापना भएको हो । त्यसबेला ७ जनाको दरबन्दी थियो । हाल कार्यालयमा १ प्रहरी हवल्दार, ३ प्रहरी जवान, १ प्रहरी नायब निरीक्षक सहित ५ जना कार्यरत छन् ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतना कक्षा सञ्चालन गरिरहेको छ । त्यस्तै, ट्राफिक कार्यालय पथरीले नेपाल जेसीज, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न विद्यालयको सहकार्यमा ट्राफिक सचेतनाबारे कार्यक्रम गर्दै आएको छ ।

पथरीशनिश्चरे सहकारी कर्मचारी सङ्गठनले दुर्घटना बढी हुने बाटोमा होडिङ बोर्ड राखेको छ । पथरीको सिंहवाहिनी माध्यमिक विद्यालय, भागीरथ माध्यमिक विद्यालय, कानेपोखरीको जनता आधारभूत विद्यालयलगायत शिक्षालयका विद्यार्थीलाई ट्राफिक सचेतना दिने गरेको छ ।

कार्यालयले स्कुल बसका चालक, सहचालक र अभिभावकलाई पनि ट्राफिक ज्ञान दिँदै आएको छ । पूर्वपश्चिम लोकमार्गमा गुड्ने सवारी साधनमा नम्बर प्लेट लेख्ने, ‘चालकसँग १ मिनेट’ कार्यक्रम सञ्चालन गर्ने काम गरिरहेको छ । त्यस्तै, यात्रु÷चालकलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशन गरेको अपिल, ट्राफिक प्रहरी कार्यालय पथरी शनिश्चरले प्रकाशन गरेको प्रचार सामग्री वितरण गर्दै आएको छ ।

दुर्घटनामा हुने क्षति रोक्न कुशल ट्राफिक व्यवस्थापन, सुन्दर र व्यवस्थित शहर बनाउन सहयोग गर्न सबैलाई अपिल गरिएको छ । न्यून जनशक्तिको बाबजुद कार्यालयले ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ ।

कार्यालयले स्थानीय सरकार पथरीशनिश्चरे र कानेपोखरीलाई कार्यालयको भौतिक पूर्वाधारको घेराबारा, कार्यालय मर्मत, कम्प्युटर र प्रिन्टर खरीदको लागि सहयोग मागेको जनाएको छ ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले ट्राफिक कार्यालयको अनुगमनपछि छलफल गरेर आवश्यक बजेट विनियोजन गर्ने जनाएका छन् ।

ट्राफिक कार्यालय पथरीका प्रहरी नायब निरीक्षक मणिराज कोइराला शहरीकरण, बढ्दो घना बस्ती, सडकको अवस्था, सवारी साधनको बढ्दो सङ्ख्या, पैदलयात्री, र चालकको लापरबाहीले दुर्घटना बढेको बताउँछन् । सडक प्रयोग गर्दा धैर्य हुनुपर्ने बताउँदै उनले ‘म सचेत छु, त्यसैले सुरक्षित छु’ भन्ने चेत हुन आवश्यक रहेको सुझाए ।