बिर्तामोडः विभिन्न प्रलोभन दिई बन्धक बनाएर किशोरीलाई यौन व्यवसायमा लगाउने ३ जनालाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतले बिर्तामोडका मनशान्त, प्रतिक्षा र मनिका होटलका सञ्चालकलाई थुनामा राख्न आदेश दिएपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । होटल सञ्चालकले ५ जना किशोरीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी मोहन थापाले बताए ।
प्रहरीले बिर्तामोडको प्रतिक्षा होटलका सञ्चालक अभिषेक तामाङलाई जेठ २२ गते नियन्त्रणमा लिएको थियो । होटलका अर्का सञ्चालक झापाको बुधबारेका विमल गहतराज भने फरार रहेका छन् । उनको होटलबाट १७ वर्षीया किशोरीलाई प्रहरीले उद्दार गरेको थियो ।
त्यस्तै, मनशान्त होटलबाट प्रहरीले गत वैशाख २९ गते १६ र १७ वर्षका २ जना किशोरीलाई उद्दार गरेको थियो । होटलका सञ्चालक किरण तामाङलाई पक्राउ गरी बालबालिकाविरुद्धको कसुर र मानव ओसारपसार तथा बेचबिखन विरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।
बिर्तामोड–१ को मनिका होटलका सञ्चालक नवीन भन्ने रत्नबहादुर विश्वकर्मासमेत पुर्पक्षको लागि कारागार चलान भएका छन् । उनले १७ वर्षीया किशोरीलाई ललाइफकाई यौन व्यवसायमा लगाएको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । होटलका अर्का सञ्चालक निश्चल विश्वकर्मा भनिने राम पोर्तेल फरार छन् ।