ताप्लेजुङ ः ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । घर माथिबाट झरेको पहिरोले घर नै जोखिममा परे पछि स्थानीय नवनारायण विष्टको परिवार विस्थापित बनेको हो ।
गए राती भएको वर्षा पछि माथिबाट भरेको पहिरोले घरको आँगन र सिकुवा नै पुरे पछि विष्टको परिवारलाई सुरक्षित स्थान तर्फ सारिएको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक ब्रम्हदेव शाहले बताए । ‘घर माथि खनेको नयाँ सडकका कारण झरेको पहिरोले घरमा क्षति पुग्नुका साथै थप जोखिम भएको पाइए पछि विष्टको परिवारलाई नजिकै छिमेकीको सारिएको छ’–शाहले भने । झन्डै ३० मिटर माथिबाट झरेको पहिरोले घरको आँगन र सिकुवामा क्षति पुगेको हो ।
ताप्लेजुङमा गए राती भीषण वर्षा भएको थियो । वर्षाकै कारण झरेको पहिरोले सिदिङ्वा गाउँपालिका स्थित सुन्तले खोला लघु जलविद्युत आयोजनाको प्रसारण लाइनमा समेत क्षति पुगेकाले केही घर धुरीमा विद्युत् अवरोध भएको बताइएको छ ।
उता सिरिजंघा गाउँपालिका–७ खेवाङमा समेत विभिन्न ठाउँमा झरेको पहिरोले बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । यता आज दिउँसो तेल्लोक थर्पु सडक खण्डमा पर्ने सिमलबोटेमा झरेको पहिरोले सडक बगाए पछि यातायात समेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।