ताप्लेजुङ: ताप्लेजुङमा झुटो विवरण पेस गरी नागरिकता लिन खोज्ने दूईजनालाई कारागार चलान गरिएको छ । गएको असार १० गते झुटो विवरण पेस गरी नागरिकता लिन खोज्दा पक्राउ परेका भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाँई र झापाको दमक निवासी ३४ वर्षीय भीमबहादुर चौलागाँईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नाताले भतिजो पर्ने र भारतीय नागरिकता लिई सकेका राजुलाई भीमले आफ्नो भाइ हुन् भनेर नागरिकता दिलाउन खोजेको पाइए पछि उनीहरू दुवै जना जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ परेका थिए । पहिले नेपालबाटै भारत गएका राजु चौलागाँईले भने उतैको नागरिकता लिइसकेको पाइएको प्रहरीको भनाई छ ।

‘बाबु बाजेकै पालादेखि उतै बस्दै आएका राजु चौलागाँईले भारतकै नागरिकता लिइसकेका रहेछन्, फेरी नेपालको समेत नागरिकता लिनका लागि झुटो विवरण सहित जिल्ला प्रशासन कार्यालयमा आएका उनीहरूले कार्यालयले विवरण लिने क्रममा फरक फरक कुरा गरे पछि त्यहीँबाट पक्राउ परेका थिए’ ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले भने ।

प्रहरीद्धारा अनुसन्धान पुरा भए पछि जिल्ला अदालत ताप्लेजुङले सोमबार कारागार चलान गरेको बताइएको छ ।